दमक/ नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदै गर्दा झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न उठन नदिने प्रयासको शुरुवात गरेको छ । पालिकाले जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले बुधबार पालिका भित्रका सवै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।परिपत्रमा भनिएको छ , जनप्रतिनिधिहरु,विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीका छोराछोरीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध छ ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा १२ वैशाखमा बसेको पालिका भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको बैठकले गरेको निर्णय अनुसार यसै शैक्षिक सत्रदेखि यो अभियान लागू गरिने उल्लेख छ ।
कमल गाउँपालिकाको शैक्षिक उन्नयनका निम्ती स्थानीय सरकारले अभियानका रुपमा यसै शैक्षिक सत्रदेखि यो अभियान चालू गरिने पालिका अध्यक्ष राईले जानकारी दिए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदा हुँदैपनि कतिपय अभिभावकहरुमा रहेको भ्रम र शिक्षा आर्जन गर्ने कुरालाई मूल्य अर्थात आर्थिक पाटोसँग जोडेर प्रतिष्ठाको बिषय बनाउँदा त्यसको नकारात्मक असर परेका कारण शुरुवात आफैंबाट गरौं भन्ने सन्देशसहित यो अभियान ल्याइएको पालिका अध्यक्ष राईको भनाई छ ।
अघिल्ला केही शैक्षिक सत्रहरुको प्रारम्भमा समेत देशका कतिपय पालिकाहरुले यस किसिमको निर्णय गरेका छन भने कतिपय जनप्रतिनिधिहरुले विपन्न बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै अध्ययनका लागि आवश्यक सम्पूर्ण बन्दोबस्ती मिलाएको घोषणा गरेका थिए । कमल गाउँपालिकाले चालेको यो कदमको शैक्षिक सरोकारवालाहरुले प्रशंसा गरेपनि यसको कार्यान्वयनमा सबै इमान्दार हुनुपर्ने औंल्याएका छन ।