दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशस्थित उद्योगी व्यवसायीका प्रतिनिधिहरुबीच उद्योग क्षेत्रमा रहेको अघोषित लोडसेडिङ्ग, ऋणको ब्याजदर लगायतका बिषयमा छलफल भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल भएको हो । सो अवसरमा मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा रहेको अघोषित लोडसेडिङ हताउन आफनो तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री कार्कीले भने ‘ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने तथा व्यवसायीसँग आवश्यक छलफल एवं भेटघाटका लागि पहल गर्ने छु ।’
उनले उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरुको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्ननरलाई छलफल गराउने विश्वास दिलाए ।
छलफलमा मुख्यमन्त्री कार्कीले भने– ‘उद्योग व्यवसाय क्षेत्रका कुन कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा तपाईहरुका समस्या समाधान हुन्छन, बजेट निर्माणका क्रममा मलाई सुझाव दिनु होस ।’
उनले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धारासाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले हाम्रो अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताए ।
राष्ट्रिय पुँजीको प्रयाप्त विकास नभइ समाजबादमा पुग्न नसकिने कुराको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगहरुको समस्या समाधानमा उचित व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराए ।
सो अवसरमा उद्योग सञ्चालनको क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्रअधिकार भित्र पर्ने कार्यलाई आवश्यक विधिविधान बनाउने तथा सङ्घीय सरकार समक्ष समेत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीले विरोध प्रदर्शन हिंसात्मक एवं गालीगलौच र दुव्र्यवहार गर्ने विषयमा उद्योगी व्यापारी एवं विराटनगरबासीको स्पष्ट धारणा आउनु पर्ने बताउँदै प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्वन्धमा गल्ति वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन आग्रह गरे ।
छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधिन पूर्वाधारहरुलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिए ।
उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्नु पर्ने वा लोडसेङ्गिको तालिका सार्वजनिक गर्न आग्रह गरे ।
होटल सङ्घ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले राज्यबाट उद्यमीहरुले कुनै सहयोग नपाएको कारण युवाहरु उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताए ।
नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे,सङ्घका पूर्व अध्यक्षद्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्री लगायतले बैंकले निक्षेपमा व्याज घटाए अनुसार ऋणमा घटाउनु पर्ने , भन्सार मूल्याङन समायोजन गरी सीमा क्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।