गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाका बिद्यालयमा दिवा खाजा कार्यक्रम अन्तर्गत पालिकाले उपलब्ध गराएको रकम खर्चमा सम्बन्धित निकायले अनियमितता औंल्याएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा पालिकाका एक दर्जन सामुदायिक बिद्यालयले पालिकाबाट लगेको दिवा खाजा खर्च वापतको कूल ५१ लाख रुपैयाँको खर्चमा महालेखा परिक्षकको कार्यालयले अनियमितता औंल्याएको हो ।
महालेखाद्धारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष हालै बुझाइएको प्रतिवेदनमा जनाइए अनुसार बाल बिकास र प्राथमिक तह तर्फका ३ हजार ८०५ जना बालबालिकाका लागि निकासा गरिएको ५१ लख ३६ हजार ७५० रुपैयाँ खर्च भएको यकिन विवरण प्राप्त हुन सकेको छैन ।
पालिकाले वित्तिय हस्तान्तरण मार्फत सशर्त अनुदानमा प्राप्त गरेको दिवा खाजा खर्च लेख्दा बिद्यार्थीहरुको दैनिक हाजिरीको प्रतिलिपी प्रधानाध्यापक वा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित गरेको हुनुपर्नेमा गाउँपालिकाले त्यस्तो प्रमाणित हाजिरी बिनानै सो रकम भुक्तानी गरेका कारण सो रकम बेरुजु देखिएको हो । पालिकाले सम्बन्धित बिद्यालयलाई बिद्यार्थीको प्रमाणित हाजिरी बिनानै मोटो रकम भुक्तानी दिनुले सो रकम सदुपयोग भएको प्रमाण नदेखिएको जनाइएको छ । बिद्यार्थीको खाजा खर्चमा मात्रै नभएर सामुदायिक बिद्यालयका बिद्यार्थीले पाउने पाठयपुस्तक र छात्रवृत्ती वापतको रकममा समेत कतिपय बिद्यालयहरुमा अनियमितता भएको हुन सक्ने आंकलन गरिएको छ ।
२०७८ वैशाख १६ देखि कोभिड १९ को कारणले बिद्यालयहरु बन्द रहेकोले निकासा भएको रकमबाट तोकिएको कार्यमा खर्च भए नभएको यकिन प्रमाण पेश गर्न र खर्च नभएको रकम फिर्ता नलिई संघीय सञ्चित कोषको खातामा दाखिला गर्न पनि महालेखाले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ ।
अनियमितता देखिएका बिद्यालय र रकमको विवरण हेर्नुहोस जस्ताको तस्तै

 

Facebook Comments Box