दमक/ अर्जुनधारा ११ स्थित बसपार्कमा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्री भइरहेको भनि एक जना महिलालाई बोलाएर ३२ लाख रुपैयाँ बढी ठगी गरेर फरार भएका चार जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहिबार कमल गाउँपालिका वडा नं ५ का ५२ बर्षिय बिजय राईले उर्लाबारी ४ की बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई जग्गाको बैना कागज समेत नगरी सुवेदीको साथमा रहेको नगद ३२ लाख रुपैयाँ लिएर फरार भएका थिए ।
सो बारे थाहा पाएको प्रहरीले नगदसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी आज शुक्रबार इलाम ७ पुरानो बसपार्क स्थित देउराली होटलबाट नगद १४, ६५,०००।–(चौध लाख पैसठ्ठी हजार) रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । इलामबाट पक्राउ पर्नेहरुमा रामेछाप देउराली २ घर भई भक्तपुर बस्ने वर्ष ३९ को राजेश श्रेष्ठ र पाँचथर मिक्लाजुङ ४ घर भई काठमाडौको गर्जुधारा बस्दै आएका ५२ बर्षिय जनक रेग्मी रहेका छन ।
सो प्रकरणमा मोरङ बेलबारी ६ घर भई मेचीनगर नगरपालिका वडा नं ६ मा बस्दै आएका ५५ बर्षिय रण बहादुर पोख्रेल र झापा कमल गा.पा वडा नं ५ घर भएका ५२ बर्षिय बिजय राईलाइ इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबारनै अर्जुनधारा ११ स्थित थापा होटल एण्ड लजको कोठा नं १०१ मा लुकेर बसेको अवस्थामा नगद १३,००,०००।–(तेह्र लाख) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

Facebook Comments Box