
व्यवसायिक कारोबार र वित्तीय क्षेत्रका लागि बर्ष २०७९ सुखद बन्न सकेन । बर्षको शुरुवातदेखिनै बजारमा अन्तराष्ट्रिय कारण देखाउँदै भएको घटदो कारोबार बर्ष अन्त्यको समय सम्म आइपुग्दा निरन्तर ओरालो लागिरह्यो ।
बैंकिङ तथा वित्तिय क्षेत्रबाट कर्जा तथा सरकारी अनुदान प्राप्तीको प्रयोजनका लागि मझौला तथा साना उद्योगहरु दर्ता भएपनि कारोबारका हिसाबले बजारमा चहलपहल बढन सकेन ।
तथापी बर्ष २०७९ मा दमकका निजी क्षेत्र ( उद्योगी व्यवसायी)हरुले स्थानीयदेखि केन्द्रस्तर सम्म नयाँ नेतृत्व चुन्ने मौकाका रुपमा उपयोग गरे । बर्षको अन्त्यतिर गएको माघमा भएको दमक उद्योग वाणिज्य संघको निर्वाचन मार्फत कतिपय उद्योगी, व्यवसायीहरुले आफूलाई नेतृत्वका लागि लोकप्रिय , सक्षम र योग्य सावित गराउन सफल भए । संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले बर्षको अन्तिम दिनमा आएर नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय कार्यकारिणी सदस्यमा लोकप्रिय मतसहित विजयी हुने अवसर पाए ।
श्रेष्ठले यही बर्ष आफना अभिभावक बुबा भक्तबहादुर श्रेष्ठलाई गुमाएपनि आफूले सामाजिक रुपमा भने देशभरका उद्योगी व्यवसायीहरुको अभिभावकका रुपमा स्थापित हुने मौका बर्षका रुपमा २०७९ रहन गयो ।
निजी क्षेत्रकै नेतृत्वको कोणबाट हेर्ने हो भने दमक उद्योग वाणिज्य संघका हरेक निर्वाचनमा अपराजित चुनावी प्रतिस्पर्धा गरिरहेका संघका अध्यक्ष गोपाल गुरागाइँका लागि बर्ष २०७९ लक्ष्य प्राप्तीको बर्षका रुपमा स्थापित हुन पुग्यो । त्यति मात्रै होइन अध्यक्ष गुरागाइँका लागि यो बर्ष आफूले बर्षौ सम्म लगानी गरेको पार्टी नेकपा एमालेसँगको वियोगान्त नेपाली कांग्रेससँगको संयोगान्तका रुपमा स्थापित हुन पुग्यो ।
यही बर्ष गुरागाइँले एमाले परित्याग गरी आफनो नेतृत्वमा कांग्रेस , राप्रपा र स्वतन्त्र व्यवसायीहरुलाई संघका पूर्व अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नगर सभापति प्रकाश प्रसाइँ, आफनै पछिल्लो कार्यकालका अध्यक्ष गोकूल श्रेष्ठ समेतको साथ र समर्थनबाट संघको नेतृत्वमा राजकुमार योङया, राजु खडका, ज्ञाननाथ पौडेल, रुवल अधिकारी लगायतका व्यवसायी नेतृत्वलाई उभ्याउन सफल भए । यो वास्तविकतालाई मुल्याङकन गर्ने हो भने गुरागाइँका लागि बर्ष २०७९ सफल बर्षका रुपमा समेत स्थापित बन्न पुग्यो ।
दमकमा निजी क्षेत्रको नेतृत्व लिन पटक पटक प्रयासरत युवा व्यवसायी नेता बिमल खतिवडाका लागि भने २०७९ पनि सुखद बन्न सकेन । उनका लागि यो बर्ष पनि चुनावी हारको बर्षका रुपमा रहन पुग्यो भने पारिवारिक वियोगको बर्षका रुपमा समेत रहन गयो । व्यवसायिक तथा सामाजिक क्षेत्रमा निक्कै सक्रिय बनाएका अर्का व्यवसायी नेता भरतकुमार चम्लागाइँ र राजेन्द्र दंगालका लागि पनि यो बर्ष चुनावी हारको बर्षका रुपमा दर्ज भयो । संघको वरिष्ठ उपाध्यक्षमा दंगाल पराजित हुँदै गर्दा प्रथम उपाध्यक्षमा चम्लागाइँ पनि हारको शिकार बन्न पुगे । दमक जेसीज बर्ष २०२२ का अध्यक्ष सञ्जिब बराल वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भए भने दमक जेसीज बर्ष २०२३ को अध्यक्षमा युवा व्यवसायी मुकेश अग्रवालले सर्वसम्मत रुपमा आफूलाई साझा नेतृत्वका रुपमा स्थापित गराउन सफल भए ।
बिद्यार्थी नेता न्यौपानेलाई फापेको बर्ष

दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ठुलो जोखिम मोलेर सभापति पदमा चुनाव लडेका बिद्यार्थी नेता सोविम न्यौपानेका लागि बर्ष २०७९ सुखद बर्षका रुपमा स्थापित भयो । तत्कालिन राप्रविसंघ झापाको नेताका रुपमा परिचित उनी चैत ५ मा भएको स्ववियु निर्वाचनको संघारमा नेविसंघ प्रवेश गरेर पनि नेविसंघका स्थानीय नेतृत्वदेखि पार्टी, संगठन र गठबन्धनमा आवद्ध बिद्यार्थी संगठनहरुकोे समेत सहयोग र समर्थनबाट लोकप्रिय मतसहित न्यौपाने स्ववियु सभापतिमा निर्वाचित भए । यो परिणामले दमकमा राप्रपा, नेकपा एमाले र माओवादी केन्द्र समेतलाई राजनीतिक धक्का दिएको बर्षका रुपमा २०७९ लाई लिन बाध्य बनायो ।