बर्ष २०७९ हामीबाट बिदा हुँदैछ । देशभर बर्ष २०७९ मा के के भए ? कसकसका लागि खास र विशेष बर्ष रहयो ? त्यो फराकिलो होला । राष्ट्रिय राजनीति देखि राष्ट्रिय, अन्तराष्ट्रियस्तर सम्म महत्व राख्ने दुरगामी महत्व र अर्थ राख्ने घटना परिघटना पनि भएका छन । तर यहाँ दमक शहर र दमकबासीका हकमा २०७९ कस्तो रहयो ? भन्ने बिषयमा चर्चा परिचर्चा गर्न खोजिएको छ ।

   राजनीतिक हिसाबले यो बर्ष दमकमा निक्कै ठुलो उथुलपुथुल भयो । दमकमा भएका स्थानीय निर्वाचनदेखि विभिन्न संघ संस्था, प्रतिष्ठानहरुले बर्ष २०७९ मा नै नयाँ नेतृत्व पायो । दमक नगरपालिकाको प्रमुख पदमा पुगि छाडने रामकुमार थापाका लागि यो बर्ष निक्कै ठुलो उपलब्धीपूर्ण बर्ष बन्यो । राप्रपा र राप्रपा नेपाल हुँदै तेस्रो पटक सम्म लगातार मेयर बन्ने थापाको सपना २०७९ को शुरुमै भएको स्थानीय तहको निर्वाचनले पुरा गरिदियो ।

  थापाको मेयर बन्ने सपना पुरा हुँदै गर्दा निवर्तमान मेयर रोमनाथ ओलीले दुई कार्यकाल चलाएको मेयर पद छोडनु पर्यो । कांग्रेस भित्र शेरबहादुर भट्टराई, गणेश प्रसाद अधिकारी, माओवादी केन्द्र भित्र गगन पुरी, दुर्गा चौंलागाइँ लगायतका नेताहरुको मेयर बन्ने रहर अधुरो रहयो । मेयर थापासँगै भाग्य चम्कियो उपमेयरमा कांग्रेस नेतृ रेगिना भट्टराईको ।

  पार्टीका आन्तरिक अधिवेशनहरुमा बाहेक संसदीय फाँटमा पहिलो पटक उम्मेदवार बन्ने मौका पाएकी भट्टराइले पहिलो मौकालाई नै सदुपयोग गर्दै जित निकाल्न सफल भइन ।

   बर्ष २०७९ सम्म पाँच बर्षे एक कार्यकाल उपमेयर बनेकी एमाले नेतृ एवं प्राध्यापक गीता अधिकारीका लागि भने यो बर्ष त्यति फलदायी रहन सकेन । अधिकारीले २०७९ मा एमाले भित्र मेयर पदका थुप्रै आकांक्षीहरुलाई पछि पार्दै मेयरको टिकट ल्याएपनि जित निकाल्न सकिनन भने निवर्तमान मेयर ओलीसँगै अधिकारी पार्टीको चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि भने समान पार्टी हैसियत बनाउन सफल भइन ।

   दमककै बासिन्दा तत्कालिन प्रदेश सभा एकका प्रदेश सभा सदस्य अर्जुन राईले २०७९ मा सो पदबाट बाहिरिनु पर्यो भने अर्का नेता दमककै होमबहादुर थापाले जनमतकै आधारमा प्रदेश सभा सदस्यका रुपमा आफूलाई उभ्याउन सफल भइरहँदा माओवादी नेता गगन पुरीको प्रदेश सभा सदस्य बन्ने सपना अधुरै रहयो । यद्यपी माओवादी नेता पुरीले पनि यो बर्ष पार्टीमा आफूलाई प्रदेश कमिटी कोषाध्यक्षको महत्वपूर्ण पदमा पुरयाएर पोलिटिकल हाइट बढाएका छन ।

ओली र पुरीको रहर कि बाध्यता ?

 बर्ष २०७९ मा दमकका सबै सामुदायिक बिद्यालयहरुको व्यवस्थापन समिति बनाउन सफल बर्षका रुपमा रहयो । यहाँका २१ वटै सामुदायिक बिद्यालयहरुको व्यवस्थापन समिति चयन हुँदै गर्दा यहाँका दुई जना राजनीतिक हस्तीहरुले आफनो हैसियत बिर्सिएर पदलोलुपता देखाएको चर्चा यो बर्ष राम्रैसँग भयो । निवर्तमान नगर प्रमुख तथा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली बर्षको अन्ततिर चैतको अन्तिम साता हिमालय माविको व्यवस्थापन समिति अध्यक्ष बनेको खबर बाहिरियो ।

   अधिकांश बिद्यालयमा दलीय भागवण्डाका आधारमा चयन गरिएको व्यवस्थापन समितिमा मुलुककै ठुलो पार्टीको केन्द्रीयस्तरको नेताले अध्यक्ष बन्नै पर्ने बाध्यात्मक परिस्थिती हो कि रहर ? आम नगरबासीहरुका मन मनमा यही बर्ष यो प्रश्न उब्जिएको छ । ओलीको भन्दा धेरै पोलिटिकल हाइट र पहुँच भएको दाबी गर्ने माओवादी केन्द्रका नेता गगन पुरीले पनि यही बर्ष सरस्वती माविको व्यवस्थापन समिति अध्यक्ष बनेर आफनो हैसियतलाई छर्लङग बनाए ।

भिम पौडेललाई घाटा कि नाफा ?

दमकको राजनीतिमा आफूलाई निक्कै माहिर र चुनावी अंक गणितमा अब्बल राप्रपाका क्षेत्रीय अध्यक्ष एवं दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले बर्ष २०७९ मा वडाध्यक्षमा ह्याट्रिक गर्न सफल भएर राजनीतिक खेलाडीको पहिचान स्थापित गरे । विपक्षीहरुले गणतन्त्र नआएको वडा भनेर उनको वडालाई परिभाषित गर्दै पौडेलमाथि प्रहार गरेपनि मतदाताले त्यसको जवाफ तेस्रो पटक पनि पौडेललाई वडाध्यक्षमा जिताएर फर्काइदिए ।

   तत्कालिन राजनीतिक हिसाबले पौडेलका लागि यो बर्ष उपलब्धिमुलक भए पनि दिर्घकालिन हिसाबले भने नोक्सानको बर्ष बनेको पनि विश्लेषण गर्न सकिन्छ । किनकी राप्रपाबाट वडाध्यक्षमा जित्दै आएका पौडेललाई २०७९ मा एमालेले राप्रपासँग चुनावी तालमेलको प्रस्ताव ल्याउँदा पौडेललाई उपप्रमुखको आश्वासन दिएको थियो । एमालेले त्यो आश्वसन अनुसारको व्यवहारिक कार्यान्वयन कुन रुपमा गथ्र्यो ? त्यो अनुमानकै बिषय मात्रै बन्न पुग्यो ।

भाग्य चम्किने र मौका गुमाउनेहरु

दमक २ , ३ , ५ र ६ का वडाध्यक्षहरुका लागि पनि यो बर्ष राजनीतिक रुपमा लाभको बर्षका रुपमा रहयो । पार्टी भित्र निक्कै लामो रस्साकस्सीपछि वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले दोश्रो पटक वडाध्यक्षमा बाजी मार्ने सुवर्ण मौका पाए भने वडा नं ३ का वडाध्यक्ष नविन बरालले पनि दोश्रो कार्यकालका लागि वडाध्यक्षमा जित निकालेर आफूलाई लोकप्रिय र अब्बल जनप्रतिनिधिका रुपमा साबित गराउन सफल भए । वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ र ६ का वडाध्यक्ष टेकबहादुर थापाले पनि एमाले पार्टीले दोश्रो पटक दिएको मौकालाई सदुपयोग गरेर परिणाम आफनो पक्षमा ल्याउन सफल बर्षका रुपमा प्रस्तुत गर्न सके २०७९ लाई ।

   दमक १ का तत्कालिन वडाध्यक्ष राप्रपाका ताराप्रसाद अधिकारीले भने त्यो मौका पाएर पनि उपयोग गर्नबाट चुके । उनी त्यहाँ एमालेका हरिप्रसान न्यौपानेसँग पराजित हुन पुगे । वडा नं १० मा पनि तत्कालिन वडाध्यक्ष एमालेका पुराना र कट्टर नेता बोधप्रसाद न्यौपानेका लागि बर्ष २०७९ त्यति सुखद बन्न सकेन । उनको चुनावी हारसँगै त्यहाँ कांग्रेस झापाका नेता राजेन्द्र भण्डारीले वडाध्यक्ष बन्ने मौका पाए भने कांग्रेसकै देवी प्रसाद दाहालको वडाध्यक्ष बन्ने रहर पुरा हुन सकेन । वडा नं १० को चुनावी परिणाम एमालेजन भित्र निक्कै अस्वभाविक हारका रुपमा चर्चा भयो ।

  वडा नं ९ मा कर्मचारी फाँटबाट एमालेको राजनीतिमा आएका कुबेर प्रसाद भट्टराईले वडाध्यक्षमा निर्वाचित हुने मौका पाए भने बिद्यार्थी राजनीतिबाट होटल व्यवसायमा लाग्दै राजनीतिक करिअर खोजिरहेका एमालेका अर्का युवा नेता दिपेश दाहालका लागि पनि यो बर्ष उपलब्धिपूर्ण रहयो । उनले २०७९ मै पार्टीको नगर कमिटी उपाध्यक्ष र दमक ८ को निर्वाचित वडाध्यक्ष बनेर हैसियत देखाउन सफल भए ।

Facebook Comments Box