दमक/ झापाको कमल गाउँपालिकाले पालिका भित्र सञ्चालित औद्योगिक तथा व्यवसायिक फर्महरुलाई व्यवसाय करमा लाग्ने जरिवाना शत प्रतिशत छुट दिने भएको छ ।
पालिका क्षेत्र भित्र यस अघिदेखिनै दर्ता बिना र दर्ता भएर पनि समयमा नविकरण नगरी सञ्चालनमा रहेका पसल, उद्योग, कलकारखाना तथा सबै किसिमका व्यवसायिक फर्महरुको नविकरण र दर्तामा बिलम्बका कारण लाग्ने जरिवाना वापतको शत प्रतिशत राजश्व छुट दिने निर्णय भएको पालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले एक महिना भित्र व्यवसाय दर्ता तथा नविकरण गर्न आउने उद्योगी व्यवसायीहरुले ब्यहोर्नुपर्ने जरिवाना बापतको रकम शत प्रतिशत मिनाहाको कार्यपालिकाले निर्णय गरेको जानकारी दिए । २३ चैतमा भएको निर्णय अनुसार आगामी २३ वैशाख सम्म व्यवसाय दर्ता तथा नविकरण गर्ने व्यवसायीहरुले यो सुविधा पाउनेछन । अहिले सम्म दर्ता नगरी र दर्ता गरेर पनि नविकरण फेल भएका व्यवसायीहरु यो निर्णयबाट लाभान्वित हुनेछन । एक महिनापछि भने व्यवसायीहरुले जरिवाना वापतको शुल्कमा ५० प्रतिशत मात्रै छुट पाउनेछन भने पालिकाले दिएको यो समय सीमा भित्र पनि करको दायरामा नआउने व्यवसायिक फर्महरुलाई नियम अनुसार व्यवसायिक करको दायरामा ल्याइने गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिका भित्र केरखा, क्याम्पा, सरङपाडा, मंगलबारे, वाह्रघरे, गेउरिया लगायतका बजारहरु पर्छन । बजार क्षेत्रबाहेक पालिका भित्र चोक बस्तीमा बाक्लो संख्यामा व्यवसायिक फर्म पसलहरु करको दायरामा आएका छैनन । बजार क्षेत्रमा समेत अधिकांश व्यवसायीहरु करको दायराबाहिर रहेका छन ।