पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा जारी रत्नकुमार बान्तवा दोस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली ८ चरणसम्म अपराजित रहँदै एक खेल अगावै च्यापियन हुने निश्चित भएको छ ।
नेपालीले छैटौँ चरणमा लोकसागर साम्बालाई, सातौँ चरणमा नवीन तण्डुकारलाई र आठौँ चरणमा सुमन श्रेष्ठलाई पराजित गर्दै उपाधि एक खेल अगावै पक्का गरेका हुन् । आठौँ चरणको खेल सकिँदा ६ जीत ,१ बराबरी र १ हार नतिजा निकाल्न सफल भएका खोमप्रसाद तिमल्सिना दोस्रो स्थानमा रहेका छन् भने नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईं, पूर्व नेपाल च्याम्पियनद्वय नवीन तण्डुकार र भुपेन्द्र निरौला, स्थानीय खेलाडीद्वय लोकसागर साम्बा र पुकार राई सहित जम्मा १२ जना खेलाडीहरूले समान ६ अंक प्राप्त गरेका छन् ।

सोहि प्रतियोगितामा अन्य स्थानीय खेलाडीहरू क्रमशः डीबी लिम्बू, निलम बस्नेत, बलबहादुर बस्नेत, कृष्णकुमार राई, देवेन्द्र वनेमले ५ अंक प्राप्त गरेका छन् भने जीवन राई , गोपाल चाम्लिङ राई, रोहित सुब्बा, कृस सबेनहाङ ४.५ अंक हासिल गरेका हुन्। भोलि सोमबार नवौँ चरणमा टेवल १ मा बन्द्रीलाल नेपाली र पुरूषोत्तम चैलागाई, टेवल २ मा उमेश राई र खोमप्रसाद तिमल्सिना खेल्नेछन् भने स्थानीय खेलाडी लोकसागर साम्बाले प्रकाशचन्द्र नेपालसँग र पुकार राईले बलबहादुर तामाङसँग खेल्नेछन् । एक सय १५ बढी खेलाडीहरूले भाग लिएकाे प्रतियोगितामा प्रथम , दोस्रो, तेस्रो तथा चौथो स्थान हासिल गर्नेलाई क्रमशः ५१ हजार, ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगीले विभिन्न ३१ विधाको लागि कडा प्रतिस्पर्धा गरीरहेका छन् । यसैबिच, प्रतियोगितामा सहभागी खेलाडीहरूको निर्णय गर्ने अन्तर्राष्ट्रिय महासङ्घबाट मान्यता प्राप्त प्रमुख आरबिटर (निर्णायक) टोलीको नेतृत्व यसीर खम्बू, उत्तम ढुंगेल, राजिव गुभाजु सहित ५ जनाले पथरीशनिश्चरेमा निर्णायक मण्डलको भूमिका निर्वाह गरिरहनु भएको छ। २०३५ साल चैत्र -२७ गते निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्रको पुनर्स्थापनामा उत्रिएर आफ्नो प्राण आहुति दिने पुर्वी नेपालबाट उदाएको ‘रातो तारा’ भनी चिनिनुहुने शहिद रत्न कुमार बान्तवाको जन्म जयन्तीको अवसरमा फ्रेण्डसिप चेस क्लब पथरी शनिश्चरेले हरेक वर्ष चैत -२७ गते पारेर आयोजना गरेको हो।
प्रतियोगितामा स्थानिय पथरीशनिश्चरे नगरभित्रका निजी तथा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति जनाएका छन् र राष्ट्रिय स्तरका खेलाडीरूसित कुशलतापूर्वक खेल क्षमताको प्रदर्शन गरिरहेको फ्रेण्डसिप चेस क्लबका अध्यक्ष अमीर राईले जानकारी दिनुभएको छ। बौद्धिक खेलको रूपमा परिचित चेस खेलमा व्यवसायिकीकरण अपनाउन सकिने बताउँदै मोरङ्ग जिल्लाको हकमा यो प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिता संचालन भैरहनु गौरवको कुरा भएको अध्यक्ष राईले बताउनुभयो। यसैबिच, यो प्रतियोगिताको माध्यमबाट पथरीशनिश्चरे नगरभित्रका सबै पर्यटकीय स्थलहरूको प्रचार प्रसार , विकास र प्रवर्द्धन गर्न पनि ठुलो टेवा पुगेको स्थानीयले बताएका छन्।
