दमक/ नेकपा (एकीकृत समाजवादी) झापाले पार्टी केन्द्रीय कमिटीले सञ्चालन गरेका अभियानलाई व्यवस्थित गर्दै जिल्लाका सवै क्षेत्र, प्रदेश र पालिका स्तरीय कमिटीलाई मजबुद र प्रभावकारी बनाउने भएको छ ।
बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको कार्यालयमा सम्पन्न सचिवालयको बैठकले केन्द्रीय कमिटीको अभियानलाई अझ व्यवस्थित गर्दै प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टी अभियानलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न, निर्वाचन क्षेत्र र पालिका कमिटीको जिम्मेवारी समेत तोकेको छ । सो अन्तर्गत उद्योग बाणिज्य संघतर्फ टिका प्रसाई, चिया मजदुरतर्फ भाष्कर घिमिरे, जनसाँस्कृतिक महासंघतर्फ प्रत्युष राना, पेट्रोल पम्पमा कार्यरत मजदुरतर्फ तीर्थ सिग्देल, अट्टो, सिटी, ढुवानी र यातायात मजदुरतर्फ श्रीप्रसाद सिटौला, निर्माण मजदुरतर्फ रतन राजवंशीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा (एकीकृत समाजवादी) झापाका सचिवालय सदस्य बिपी भट्टराईले जानकारी दिए ।
त्यस्तैं, ३० चैतमा पार्टी सम्बद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला अधिवेशन सफल बनाउनका लागि एक जुट हुन बैठकले निर्णय गरेको छ ।
सचिवालय कमिटीका संयोजक बेदराज रेग्मीको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्र्ज पुष्पराज पोखरेलको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । सो बैठकले केही दिन अघि मात्रै नेकपा (एमाले) परित्यागगरी एकीकृत समाजवादीमा प्रवेश गरेका डम्बर गिरी, मिना राजवंशी लगायतका नेताहरुलाई पार्टीले जिम्मेवारी प्रदान गरेको छ । गिरीलाई जिल्ला सचिवालय कमिटीको सदस्यको जिम्मेवारी प्रदान गरिएको छ भने राजवंशीसहित कमल गाउँपालिकाका केर्खाका रामबहादुर थापा (बाबुराम) र मिनल अधिकारीलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । गिरी एमाले झापा जिल्ला कमिटीका सदस्य, युवा संघ झापाका अध्यक्ष हुन् । उनी हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष हुन् । त्यस्तैं, राजवंशी एमाले झापा जिल्ला कमिटी सदस्य हुन् ।
त्यस्तैं, पछिल्लो समय बैंक, तथा वित्तीय संघसंस्थाहरुमा देखिएका समस्याका बारेमा केही व्याक्तिहरुले गरिरहेको गतिविधिहरुप्रति बैठकले सम्बन्धित पक्षको ध्यानकर्षण गराएको छ ।
बैठकमा चैत १७ र १८ गते चन्द्रगढीको देबकोटा चौकस्थित मुना भवनमा सम्पन्न पार्टी स्कुल विभागले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समेत समिक्षा गरेको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुषाल, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, पोलिटव्यूरो सदस्य धर्म निरौला, केन्द्रीय सदस्य अशेष घिमिरे लगायतले प्रशिक्षण दिएका थिए ।

Facebook Comments Box