विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन ।
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन । उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गरे ।
त्यसैगरी उनले विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाए ।
उनले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडी बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराए ।
उनले भने –‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको बैजनाथपुर र झापाको रङ्गशालालाई तीनवर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी २/३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरे । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यानदिनुपर्ने बताए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राईलाई एक लाख नगद् डेनिका राईलाई २५ हजार , सागर यादवलाई १५ हजार , निमाजि सीलाई १५ हजार, अंशु मण्डललाई , रंजु चौधरी, र पूजा चौधरीलाई पाँचरपाँच हजार नगद सहित सम्मान गरिएको थियो ।