दमक/ दमक नगरपालिकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरुले उपयोग गर्न सक्ने गरी कृषक समुह मार्फत पचास प्रतिशत अनुदानमा बिषादी छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन बितरण गरेको हो ।
आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईले ति समाग्रिहरु कृषक समुहलाई हस्तान्तरण गरे । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले नगरपालिकाले कृषि सामाग्री सहित माटोको परिक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन किसानहरुलाई आग्रह गरिन ।
दमक नगरपालिका आर्थिक बिकास समिति संयोजक समेत रहेका दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कृषक समुहमा १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिइन । २३ हजार ५ सय रुपैयाँ मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिसत अनुदानमा कृषक समुहलाई वितरण गरिएको उनले बताइन ।