दमक/ कमल गाउँपालिकामा पछिल्ला दश महिनामा आगलागीका २६ वटा घटना भएका छन ।
सो अवधिमा घर,गोठ,परालको कुन्यु, विद्युत पोलमा गरि २६ वटा घटनामा लाखौं मुल्य बराबरको नोक्सानी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कार्यालयले केहि घटना प्राकृतिक कारणले र कतिपय घटना भुलबश, पर्याप्त साबधानी र सतर्कता नअपनाएका कारण र बिद्युत जडानको क्रममा भएको त्रुटीका कारण पनि हुन पुगेको भन्दै आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आगलागीका घटना पटक पटक भएपछि सार्वजनिक अपिल मार्फत अकल्पनीय क्षति भइरहेकोप्रति दुख प्रकट गर्दै त्यस्ता घटना हुन नदिन पर्याप्त सतर्कता अपनाउन अपिल पनि गरेका छन । अहिले सुख्खायाममा हावाहुरी र आगलागीको मौसम चलिरहेकाले सर्तकता अपनाउन जरुरी भएको अध्यक्ष राईले उल्लेख गरेका छन् ।
चैत्र,बैशाख,जेठसम्म खडेरी र हावा, हुरीबतास, चट्याङ्ग जस्ता विपतका घटना हुने समय भएकाले त्यस समयमा आम नागरिकहरु अझै चनाखो हुन जरुरी भएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन् , –‘ हावाहुरीका समयमा आगो बाल्दा केटाकेटीले भेट्ने र देख्ने ठाउँमा सलाई, लाईटर जस्ता ज्वलनशील समानहरु नराख्ने, आफुले बालेको चुलो, ग्याँस, चुरोट बिडीका ठुटो राम्ररी निभाउने गर्नु पर्दछ ।’
आगजनीबाट हुन सक्ने जोखिम नियन्त्रणमा परिवार,समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले कुनै कारणवस आगलागीका यस्ता घटना भएमा गाउँपालिकाको बारुण यन्त्र , नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, कर्मचारी तथा जनप्रतिनिधिहरुलाई सोझै फोन सम्पर्क गरि सकारात्मक भुमिका निर्वाह गरिदिन पनि अपिल गरेका छन । कमलमा भएका अधिकांश आगलागीका घटनामा नेपाल रेडक्रस सोसाइटी उपशाखाले आपतकालिन राहत उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाको वारुण यन्त्र शाखा, स्थानीय प्रहरी प्रशासनले आगलागी नियन्त्रणमा भुमिका निर्वाह गर्दै आएको छ ।