दमक/ नेकपा माओवादी केन्द्रको उत्तराधिकारी संगठनका रुपमा रहेको योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल दमक नगर कमिटीको नगर सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

सम्मेलनको वाइसिएलका केन्द्रीय सचिव तथा पार्टीका प्रदेश कमिटी सदस्य कर्म पुलामीले उदघाटन गर्दै प्रदेश एकको नामाकंनका बिषयलाई लिएर विराटनगरसहित प्रदेशभर आन्दोलनरत पक्षसँग संवादको वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरे । नेता पुलामीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धी माओवादी आन्दोलनकै उपज भएको जिकिर गर्दै परिवर्तनलाई उल्टाउने आशयका साथ हुने कुनैपनि गतिबिधि वाइसिएललाई सह्य नहुने चेतावनी दिए । उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाजको परिकल्पना माओवादीले नै गरेको दाबी गर्दै कतिपय माओवादी नेता, कार्यकर्ताहरुका गतिबिधिहरुका बिषयमा समाजमा उठिरहेका प्रश्नले माओवादीलाई सही ट्रयाकमा हिडाउन मद्धत पुरयाउने पनि बताए ।
उनले युवाहरु समयानुकुल प्रविधिमैत्री बन्न आवश्यक रहेको बताउँदै प्रविधिको दुरुपयोगसँगै आइपर्न सक्ने खतराप्रति पनि सचेत र सजग रहन आवश्यक भएको पनि सुझाए । सचिव पुलामीले वाइसिएलले देशभर डिजिटल माध्यमबाट सदस्यता वितरणको अभ्यास शुरु गरिसकेको बताउँदै यसलाई पछयाउन परिवर्तनकारी युवा शक्तिहरुलाई आव्हान पनि गरे ।
पार्टी नेता दुर्गा चौलागाइँको विशेष आतिथ्य रहेको सम्मेलनमा पार्टीका दमक नगर इञ्चार्ज वेदु गौतम, वाइसिएल केन्द्रीय सदस्य दिपक आले , माओवादी नगर अध्यक्ष कुल बहादुर बस्नेत, स्ववियु दमक बहुमुखी क्याम्पस कोषाध्यक्ष उमा राई लगायतको पनि आतिथ्य रहेको थियो ।
वाइसिएल दमक नगर कमिटीका तत्कालिन अध्यक्ष निशान मगरको अध्यक्षतामा भएको नगर सम्मेलनले जोन बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी पनि चयन गरेको छ । कमिटीको उपाध्यक्षमा निर्मल मगर र प्रविण योगी, सचिवमा अमन लावती, सहसचिवद्धय सरण मगर र मैना वर्देवा तथा कोषाध्यक्षमा दिप धिमाल सर्वसम्मत चयन भएका जनाइएको छ । सम्मेलनमा करिब ३ सय युवाहरुको सहभागिता थियो ।
