विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन गरेका छन । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै त्यस्तो बताएका हुन ।

मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको पनि उल्लेख गरे ।
पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका योजनामा लगानी नगर्न आग्रह गरे । उनले गोरुगाडा देखि गुन्द्रुकबिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि दायरा बढाउने तर्फ ध्यानदिनुपर्ने बताए ।
अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीयतहलाई बलियो बनाउने र स्थानीयतहसँग समन्वय गरेर काम गर्ने कुरामाप्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले भने – ‘गाउँपालिकाहरुलाई एक भन्दा पनि दुई वा सो भन्दा बढी पालिका सहभागि हुने सामुहिक योजना निर्माणमा ध्यानदिनुहोस, त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहनेछ ।’
उनले मुलुक सङेघीयतामा गएसँगै विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँचवर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गरे ।