दमक/ कोशी प्रदेश सरकारको २५ औं मन्त्रिपरिषद बैठक सोमबार बसेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५ गते विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी पदम लिम्बु ( लाजेहाङ) को १० चैतमा भएको निधनप्रति दुख व्यक्त गर्दै लिम्बुको परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बैठकले सो सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय समेत गरेको छ । कोशी प्रदेश नामाकंनको विरोधमा उत्रिएको संघर्ष समिति र यसका अगुवाहरु सुरक्षाकर्मीबाट लिम्बुको मृत्यु भएको भन्दै सशक्त आन्दोलनमा उत्रिइरहेका बेला प्रदेश सरकारले यस्तो निर्णय लिएको हो । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय पनि गरेको छ । त्यसैगरी पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएका दुई विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्दै प्रदेशको नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित राजनीतिकदलहरुलाई धन्यवाद पनि प्रकट गरेको छ ।
