पथरीशनिश्चरे/ भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोह सञ्चालन गरिरहेका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका छन् । आइतबार अपराह्न गिरोह सञ्चालन गरिरहेका संजालका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका हुन् । यो गिरोहले ५ वर्षयता झन्डै १ अर्ब ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतको अनुमान छ ।
भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका केशव दुलालसहित पक्राउ परेका हुन् ।
उनी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनकाे सहयोगी थिए । नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेर र पीडितहरुमध्ये झण्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान स्रोतले जनाएको छ। दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका छन् । यो गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको बताइएको छ।