दमक/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाको फागुन ७ गतेदेखि सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारका कामहरु समेत गरेर स्थापना दिवस मनाएको हो । शनिबार संस्थाको सभाकक्षमा आयोजित औपचारिक कार्यक्रमका बीच स्थापना दिवस विशेष कार्यक्रमहरुको समापन गरिएको संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिए । समापनका अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सञ्चलित रक्तदानमा ४५ जनाले रक्तदान गरेका छन ।

समापन कार्यक्रममा नेफस्कुनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, सहकारी अभियान्ता प्रेम प्रसाद कोइराला, जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, स्वर्णलक्ष्मी साकोसका संस्थापक अध्यक्ष बासुदेव काफले, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका लगायत सहकारी तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहकारीका व्यवस्थापक घिमिरेले सहभागी सदस्यहरुमाझ संस्थाको बिगतदेखि वर्तमान सम्मको अवस्था, वित्तीय कारोबारको तथ्याङक र सामाजिक क्षेत्रमा गरेका कामहरुका बारेमा जानकारीमुलक प्रस्तुती राखेका थिए । सदस्यहरुलाई विभिन्न किसिमका बचत कार्यक्रम एवं अहिलेको परिस्थितीमा सहकारी संस्थाका सदस्यहरु, सञ्चालक समिति र वित्तिय कर्मचारीहरुले समेत निर्वाह गर्नुपर्ने भुमिकाका बिषयमा प्रशिक्षणमुलक अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।
संस्थाका अध्यक्ष बुद्धिसागर बराल बिमलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले बाल बचत कर्ताहरु, विभिन्न आवधिक बचतका बचत कर्ता एवं संस्थाका कारोबारी सदस्यहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको संस्थाकी सञ्चालक समिति सदस्य पुनम रिजालले जानकारी दिइन ।

सो संस्थाले स्थापना दिवसका अवसरमा यसअघि उर्लाबारी, सुरुङगा , झिलझिले र गौरादह सेवा केन्द्रका सदस्यहरुलाई सदस्य शिक्षासहित आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो भने हाम्रो बाल आश्रम दमकका बिद्यार्थीहरुलाई किताब बोक्ने झोला र डायनामिक पब्लिक लाइब्रेरीलाई नगद २० हजार रुपैयाँ र बहुमुखी टोल बिकास संस्था दमकलाई २५ थान गमला समेत प्रदान गरेको छ ।
