दमक/ झापा दमक ४ की स्वर्गीय सुनिता श्रेष्ठको मासिक (३० औं दिन)को पुण्य तिथीको अवसर पारेर उनको स्मृतिमा छोरी उषा श्रेष्ठसहित परिवारले बाल आश्रमलाई नगद र बृद्धआश्रमका ज्येष्ठहरुलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेका छन ।
शनिबार दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक आश्रममा आयोजित संक्षिप्त कार्यक्रममा आश्रममा बस्दै आएका १० जना बृद्धबृद्धालाई कपडा, नगद ५ हजार र विभिन्न खाद्यन्न सामग्री प्रदान गरेका हुन । 
त्यसैगरी सो परिवारले शनिबारनै दमक २ स्थित हाम्रो बाल आश्रम सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले नगद ५० हजार रुपैयाँ र पितृ प्रसाद स्वरुप खाद्यन्न प्रदान गरेको छ । हाम्रो बाल आश्रमका अध्यक्ष प्रकाश थापा र दमकस्थित अनाथ बाल बृद्धाश्रमकी अध्यक्ष सुमित्रा प्रसाइँ मार्फत आश्रमलाई सो सहयोग हस्तान्तरण गरिएको थियो ।
श्रेष्ठ परिवारका तर्फबाट सुनिताकी एक मात्र सन्तान उषाले विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्वहरु र परिवारका अग्रजहरुको विशेष उपस्थितीका बीच सो सहयोग हस्तान्तरण गरेकी थिइन । ति दुवै सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेसका प्रदेश क्षेत्र सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौला, दाता परिवारका नातेदार समेत रहेका महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, राजेन्द्र सिटौला लगायतको विशेष उपस्थिती रहेको थियो । श्रेष्ठ परिवारले दिवंगत आत्माको शान्तिका लागि प्रार्थनासहित त्यस किसिमको परोपकारपूर्ण काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन ।

एक महिना अघि दमक ४ की ३८ बर्र्षीया सुनिता श्रेष्ठको अल्पायुमा निधन भएको थियो । उनको नेवारी परम्परा अनुसार पहिलो पटक छोरी उषाले दशगात्र कर्म ( काजकिरिया) गरेकी थिइन ।
सुब्बाले गरे दुवै आश्रममा सहयोग
यसैबीच अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष समेत रहेका सामाजिक व्यक्तित्व छत्र सुब्बाले हाम्रो बाल आश्रम र रत्न ज्येष्ठ आश्रम दुवैमा नगद २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन । सुब्बाले श्रेष्ठ परिवारसँगै सहभागी भएर ति दुवै आश्रमलाई नगद १०÷१० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन ।