दमक/ झापाको दमकबाट विप्लव नेतृत्वको नेकपाका उच्चस्तरका पाँच जना नेता कार्यकर्ताहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका सबै नेता कार्यकर्ताहरुको बारेमा विस्तृत खोज तथा अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले पक्राउ परेकाहरुको बारेमा विस्तृत अनुसन्धान भईरहेकाले तत्कालै उनीहरुको परिचय नखुलाईने बताए ।
दमकको पश्चीम बस स्टेण्डस्थित एक होटलमा आएर बसे लगत्तै पक्राउ परेका उनीहरुका बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी श्यामल सुब्बाले भने अनभिज्ञता प्रकट गरेका छन् ।
सुब्बाले भने– त्यो कुनै अप्रेशन होला त्यसबारेमा हामीलाई त्यति थाहा छैन । समाचार स्रोतहरुका अनुसार पक्राउ पर्नेमा पूर्वी पहाडी जिल्ला पाँचथर र इलामका इञ्जार्ज तथा सेक्रेटरी तहका नेताहरु समेत छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीका मेची कोशी ब्यूरो संयोजक तथा अन्य विद्यार्थी नेता कार्यकर्ताहरुलाई पक्राउ लगत्तै विर्तामोडतर्फ लगिएको प्रहरी स्रोतले जनाएको छ । केहि दिन अघि समेत दमकको बेलडाँगीबाट सो पार्टी सम्बद्ध विद्यार्थी संगठनका दुई कार्यकर्ता पक्राउ परेका थिए ।