दमक/ विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा इलाका प्रशासन कार्यालय दमकले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार दमक नगरपालिकासंँगको समन्वयमा नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा प्रशासन कार्यालयका नायब सुब्बा सुरेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताहरुको हक अधिकार सुरक्षित गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै कानुनतः बजार अनुगमनको जिम्मेवारी पछिल्लो समय स्थानीय तहमा आएकोले यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने चर्चा गरे । दाहालले उपभोक्ताहरु स्वयं सचेत र जागरुक भए मात्रै उपभोक्ता अधिकारको उपयोग हुन सक्ने पनि उल्लेख गरे ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा आयोजित अन्तरक्रियामा उपभोक्ता प्रतिनिधिहरुले बजारमा खाद्य बस्तुहरुको गुणस्तर मापनका लागि बजार अनुगमन तथा खाद्यबस्तुहरुको परिक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राई, कमलका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतको आतिथ्य रहेको थियो । सो अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल, वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, वडा नं ३ का वडाध्यक्ष नबिन बराल, दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायत अन्य सामाजिक संघ संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरु सहभागी थिए ।

