दमक/ झापाको कमल गाउँपालिका वडा नं ६ शान्तिपुरको एक घरमा बिद्युत सट भएर आगलागी भएको छ । सोमबार बिहान स्थानीय रामकुमारी राईको दुई तले काठको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ भन्दा बढीको धनमाल नोक्सान भएको जनाइएको छ ।

आगलागीबाट घरायसी सरसामान अन्नपात समेत जलेर नष्ट हुँदा सो बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । यसैबीच नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले आगलागी पीडित राईको परिवारलाई राहत सेट हस्तान्तरण गरेको छ । सोसाइटीले पीडितहरुका लागि दिने गरिएको एक थान त्रिपाल, कम्बलसहित लत्ताकपडा र भाँडा वर्तन राहत स्वरुप प्रदान गरिएको रेडक्रस सोसाइटी कमलले जनाएको छ ।

आगलागीस्थलमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, वडाध्यक्ष नरेन्द्र भट्टराई लगायत रेडक्रसका पदाधिकारीहरु पुगेर पीडित परिवारसँग घटनाका बिषयमा जानकारी लिएका छन । केही दिन अघि पनि कमल ४ स्थित एक घरमा आगलागीको घटना भएको थियो । रेडक्रस कमलले आगलागी तथा अन्य प्राकृतिक प्रकोप पीडितहरुको पुनस्र्थापनाका लागि आपतकालिन राहत प्रदान गर्दै आएको छ ।
