दमक/ यहि चैत ५ गते देशभरका क्याम्पसहरुमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि छिटफुट बाहेक अधिकांश क्याम्पसहरुमा बिद्यार्थी नेताहरुले शान्तीपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन ।
कतिपय क्याम्पसहरुमा बिद्यार्थी संगठनका प्रतिनिधिहरुबीच समझदारी हुन नसक्दा मनोनयनको कार्यक्रम अघि बढन सकेको छैन । यसैबीच पूर्व क्षेत्रमानै सर्वाधिक चासो साथ हेरिएको झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबीच प्रतिस्पर्धा हुने देखिएको छ । यि दुई संगठनले नेतृत्व लिँदै अन्य संगठनहरुसँग पनि चुनावी तालमेल गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन । नेपाल विद्यार्थी संघको नेतृत्वमा ,नेकपा एकीकृत समाजवादी निकटको अखिल, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी र जसपा निकटका विद्यार्थी संगठनवीच चुनावी तालमेल भएको छ भने नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तीकारी) र राप्रपा निकट राप्रविसंघबीच चुनावी तालमेल भएको छ ।
नेविसंघ नेतृत्वको टिमबाट स्ववियु अध्यक्षमा सोबिम न्यौपानेलाई उम्मेदवार बनाइएको छ । दमक ९ का स्थायीबासिन्दा न्यौपाने यसअघि राप्रविसंघको नेतृत्वमा रहेका थिए । बिद्यार्थीहरुमाझ लोकप्रियको छबि बनाएका न्यौपानेलाई स्ववियु अध्यक्ष जित्न सक्ने सम्भावित उम्मेदवारका रुपमा लिँदै नेविसंघ न्यौपानेको नेतृत्वमा चुनावी मैदानमा होमिएको हो ।
न्यौपानेलाई कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य भुमिराज राईको प्रमुख आतिथ्यमा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नगर सभापति प्रकाश प्रसाईँ सहित नेताहरुले कांग्रेसमा स्वागत गरेपछि संघले उनलाई अध्यक्षको उम्मेदवार बनाएको हो । न्यौपानेको अध्यक्षतामा सो टिमबाट दिपक मादेन सचिव र कोषाध्यक्षमा रविन अधिकारी उम्मेदवार बनेका छन । मादेन नेविसंघकै कार्यकर्ता हुन भने अधिकारी नेकपा एस निकटको अखिलका तर्फबाट उम्मेदवार बनेका हुन ।
यसैबीच एमाले निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघ वीचको तालमेलबाट अखिलले स्ववियू अध्यक्षमा निशेष राई (नितेस ) लाई उम्मेदवार बनाएको छ । राप्रविसंघबाट सचिवमा रविन ढकाल र अखिल क्रान्तिकारीबाट कोषाध्यक्षमा उमा राईले उम्मेदवारी दिएका एमाले दमक नगर कमिटी उपसचिव सन्तोष दुलालले जानकारी दिए ।
स्ववियूमा सभापतिसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन भने १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दमक बहुमुखी क्याम्पसको स्वबियूमा भएका पछिल्ला दुई निर्वाचनमा लगातार नेविसंघले जित हात पार्दै आएको छ । यस अघि नेबिसंघका तर्फबाट पहिलो पटक अध्यक्ष जितेका अइन्द्र केरुङ अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छन भने त्यसपछि स्ववियु सभापति जितेका विनोद चापागाइँ हुन । चापागाइँ हाल सोही क्याम्पसमा प्राध्यापन गराउँदै आएका छन । यस पटकको निर्वाचनमा दमक बहुमुखी क्याम्पसमा करिब ३ हजार २ सय बिद्यार्थी मतदाताका रूपमा रहेका छन् ।