दमक/ झापाको कमल ७ बिष्णुकट्टास्थित सिंहदेवी आधारभूत बिद्यालयमा लामो प्रयासपछि उदाहरणीय शैक्षिक वातावरण बनेको छ । सो सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि बिद्यालय प्रशासन, बिद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबीचको सहकार्यबाट बिद्यालयको भौतिक पूर्वाधारको मात्रै नभएर शैक्षिक गुणस्तरनै बदलाउन सम्भव भएको हो ।
सो बिद्यालयमा अहिले प्ले ग्रुपदेखिनै बिद्यार्थी भर्ना लिने गरिएको छ । बिद्यालय परिसरमा प्ले ग्रुपका लागि आवश्यक विभिन्न खेलकुद र मनोरञ्जनका सामग्री समेत राखेको पाइन्छ ।


पूर्ण रुपमा कक्षा ७ सम्मनै अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । बिद्यार्थीहरुका लागि टाइ बेल्टसहितको बिद्यालय पोशाक बोर्डिङ स्कूलमा जस्तै अनिवार्य गरिएको छ । सबै जातजातीको मिश्रित बसोबास रहेको सो क्षेत्रका बालबालिकाहरुको बिद्यालय आउने जाने समय सबैको एउटै छ । पहिला पहिला जस्तो बिद्यार्थीहरु कक्षामा अनियमित पनि छैनन, सधैं नियमित आउँछन र प्राय सबै एकसाथ बिद्यालय आउने र शैक्षिक कृयाकलापमा सहभागी हुँदा पनि छुट्टै आकर्षण हुँदो रहेछ– प्रधानाध्यापक इन्दिरा खनाल दाहालले शैक्षिक सुधारको प्रारम्भिक अनुभव सुनाइन ।
२०७६ सालको फागुनदेखि बिद्यालयले महिला प्रधानाध्यापक पाएको हो । बिद्यालय प्रशासनमा महिला (मेरो) नेतृत्व हुनु संयोग पनि हुन सक्छ तर कुनैबेला यही बिद्यालय ४० जना मात्रै बिद्यार्थीमा पनि सिमित भएको थियो ।
बिद्यार्थी संख्या न्यून भएकै कारण एक ताका यो बिद्यालयनै अर्को बिद्यालयमा गाभ्ने चर्चा समेत सरकारी अधिकारीहरुले गर्ने गरेका थिए तर अहिले यो बिद्यालयमा आउने बिद्यार्थीको संख्या २७० पुगेको छ । बिद्यालय परिसरमा भेटिएका अभिभावक रविन गुरुङले बिद्यालय राज्यको लगानी रहेको समुदायको सम्पत्ती भएकाले यसको संरक्षण र बिकास गर्नु आफूहरुको कर्तव्य भएकाले आफना छोराछोरी अन्त नपठाई यही स्कूलमा पढाउने गरेको सुनाए ।
कतिपय सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्या कागजी दस्तावेजमा मात्रै सिमित हुने गरेपनि यो बिद्यालयको तथ्याङकमा रहेका शत प्रतिशत बिद्यार्थी बिद्यालयमा नियमित अध्ययन गर्न आउने गरेका छन । प्रायः सबै बिद्यार्थी आएकै हुन्छन हामीले कुनै फर्जी बिद्यार्थीको तथ्याङक दिएका छैनौं– प्रधानाध्यापक दाहालले भनिन । उनले स्थानीय अभिभावक, व्यवस्थापन समितिका पदाधिकारीहरु जिम्मेवार ढंगबाट प्रस्तुत भएर बिद्यालयको बिकासमा लाग्दाको परिणाम अहिले सिंहबाहिनीले पाएको बताइन । बिद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष राई ४ बर्ष यता बिद्यालयको शैक्षिक वातावरण राम्रो बन्दै गएको बताउँछन ।


कक्षा थपको अनुमती माग
बिद्यार्थी संख्या बढदै गएको र नजिकै अन्य सामुदायिक बिद्यालय समेत नभएका कारण यो बिद्यालयले आउँदो शैक्षिक सत्रदेखि कक्षा ८ सम्मको अध्ययन अध्यापन गराउने लक्ष्य राखेको छ । प्रधानाध्यापक इन्दिरा खनाल (दाहाल)ले भनिन – हामीले सबै प्रकृया पूरा गरेर थप कक्षाको अनुमती माग गर्दै गाउँपालिकामा पेश गरेका छौं हामीलाई विश्वास छ आगामी शैक्षिक सत्रदेखि हामीले कक्षा ८ सम्मको पठनपाठन गराउने अनुमती पाउँछौं । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष .ओमनाथ तिम्सिनाले बिद्यालयको भौतिक संरचना र अन्य पूर्वाधारहरुको व्यवस्था राम्रो भएका कारण कक्षा थपको अनुमती पनि पाउनु पर्ने जिकिर गरे ।
राष्ट्रपति शैक्षिक सुधारबाट सन्तुष्ट 
सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेको सिंहदेवीका लागि गत आर्थिक बर्षमा प्राप्त ३६ लाख रुपैयाँमा बिद्यालयको समेत सहभागिताबाट करिब ४५ लाख लागत पर्ने चार कोठे दुई तले पक्की भवन निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी गाउँपालिकाले दुई कोठे पक्की शौचालय निर्माण गरेको छ । उपभोक्ता समिति मार्फत भवन निर्माण गर्दा यो सम्भव भएको प्रधानाध्यापक दाहालले बताइन । यस बर्ष समेत प्रदेश सरकारबाट आइसीटि ल्याबको योजना सो बिद्यालयमा परेको छ । सो योजना कार्यान्वयनमा आएपछि बिद्यालयमा कम्प्युटर शिक्षा समेत प्रदान गर्न सकिने बिद्यालयले जनाएको छ ।  अरुतिर पनि यस्तै बजेटका योजनाहरु परेका छन , प्रत्यक्ष हेर्न सकिन्छ व्यवस्थापन समिति स्थानीय अभिभावकहरुको पनि सक्रिय सहयोगले यहाँको काम समयमै पूरा भएको उनले बताइन ।

 

Facebook Comments Box