विराटनगर/ कोशी प्रदेश नाम खारेजीको माग गर्दै २८ फागुनमा आम हड्ताल र ५ चैतमा विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको मंगलबार र बुधबार भएको बैठकले कोशी प्रदेश नाम खारेजीको लागि २८ फागुनमा प्रदेशभर आम हड्ताल र ५ चैतमा बृहत प्रदर्शनी गर्ने निर्णय भएको किरात याक्थुङ् चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए ।
चुम्लुङको केन्द्रीय अध्यक्ष एक्तेनको अध्यक्षतामा बसेको जुम बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश १ सचिव राम माण्डुपा राई लगायतको सहभागिता रहेको थियो ।
प्रदेश १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्ब महासचिवसमेत रहेका अभियान्ता आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जसपाबाट रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा समाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, संभावना चुनौतीहरु बारे बोलेका थिए ।
आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश १ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामकरणको मुद्धा उठाउन पहल गर्नुपर्ने वक्तारुले बिषय राखेका थिए ।
२४ फागुनमा काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको बैठकले १ प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समार्थन, साहयोग गर्ने निर्णय भएको महासचिव दिवस राईले बताए ।
प्रदेश १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागि हुन महासंघको १ प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठ्न र उठाउन आव्हान समेत गरेको छ । किराँत मोर्चाले २६ गते पनि हड्तालको घोषणा गरेको छ ।