दमक/ दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलमा बार्षिक साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
स्कूलमा आज सोमबार आयोजित औपचारिक कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न समुहमा प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेका थिए ।
त्यसका अतिरिक्त बिद्यालयमा सञ्चालन गरिएका अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा बिद्यार्थीहरुले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । ति सामग्रीहरु बनाउन उत्कृष्ट कला प्रस्तुत गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन पनि गरिएको थियो ।
बिद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलको सभापतित्व र बिद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थापक प्रिन्सिपल खेमलाल पोखरेल, सञ्चालक सुमित्रा प्रसाइँ, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य समेत रहेका अभिभावक बिष्णु पोखरेल, नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष एवं अभिभावक बिष्णु पौडेल लगायत अतिथीहरुले विभिन्न बिधाका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पोखरेलले २०४६ सालमा स्थापना भएको बिद्यालयको गौरवपूर्ण इतिहास र यसको गरिमालाई कायम राख्न योगदान पुरयाउने बिद्यार्थी, अभिभावक, शिक्षक , कर्मचारीहरुको प्रशंसा गरे । उनले बिद्यालयका दुई जना संस्थापकहरु स्वर्गीय कोमल प्रसाइँ र कृष्ण दंगाललाई स्मरण गर्दै उहाँहरुको योगदानप्रति बिद्यालय सधैं ऋणी रहने बताए ।


