दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ ।
यसअघि क्याम्पस सभासदहरु मध्येबाट चुनिएका सञ्चालक समितिका ११ जना सदस्यहरु र ५ जना पदेन सदस्यहरुले आज शनिबार मतदान प्रकृयाबाट सञ्चालक समिति चयन गरेका हुन ।
समितिको अध्यक्षमा ढुण्डीराज भण्डारी र उपाध्यक्षमा रिता श्रेष्ठ निर्वाचित भएका हुन । अन्य सबै सञ्चालक समिति सदस्यका रुपमा कायम भएका छन । सञ्चालक समितिको सचिवमा क्याम्पस प्रमुख पदेन रहने व्यवस्था छ । निर्वाचित सञ्चालक समितिले क्याम्पसमा विभिन्न उपसमितिहरु गठन गर्दै आएको छ । क्याम्पसमा सञ्चालक समितिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच निक्कै लामो रस्साकस्सी चलेको थियो ।
क्याम्पस सभाको उदघाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उदघाटन पछि प्राध्यापक राम गिरीको संयोजकत्वमा रहेको ३ सदस्यीय निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि दलहरुको अडान र निर्वाचित सदस्यहरुबीच सहमति नजुटदा अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्नुपरेको थियो । मतदान प्रकृयाबाट नेकपा एमालेका अम्बिका खनाललाई हराउँदै अध्यक्षमा कांग्रेसका क्षेत्रीय सभापती समेत रहेका भण्डारी र माओवादी केन्द्र समर्थित बेदु गौतमदाई हराउँदै राप्रपाकी रिता श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका बताइएको छ ।
यस अघि क्याम्पसको लेखा समिति संयोजकमा माओवादी केन्द्रका नगर अध्यक्ष कूलबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरुमा हरिकुमार सुवेदी, यिशुराज दाहाल, डम्बर पूलामी र ओममाया आङदेम्बे निर्विरोध निर्वाचित भएका थिए ।
