दमक/ झापा दमक ४ की एक जना १५ बर्षिया किशोरी आफनी आमाको दशगात्र किरियामा बसिरहेकी छिन ।
स्थानीय एक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत उषा श्रेष्ठ आमा सुनिता श्रेष्ठको निधनपछि १० दिन अघिदेखि काजकिरियामा बसेकी हुन । बुबा रतन श्रेष्ठ र आमा सुनिताको कोखबाट जन्मिएकी एक मात्र सन्तान हुन उषा ।
उनकी आमा सुनिताको ३८ बर्षको अल्पायूमै असामयिक निधन भएको हो । उनलाई नेवारी परम्परा अनुसार नेवारी पुरोहित (गुवाजु) प्रेमकुमार श्रेष्ठले काजकिरिया गराइरहेका छन । स्वर्गीय सुनिताको कोखबाट जन्मिएका अन्य छोराछोरी कोही नभएका कारण एक मात्रै छोरी उषाले उनको बैकुण्ठबासको कामना गर्दै परम्परा अनुसार कोरामा बसेर आशोच बारिरहेकी उनका उषाका हजुरबुबा ७६ बर्षिय लालसुन्दर श्रेष्ठले बताए ।
श्रेष्ठले आफनो समुदायमा आमाको किरिया गर्न छोरीका रुपमा नातिनी उषा पहिलो हुन सक्ने अनुमान लगाएका छन । लालसुन्दरले भने– नहुनु घटना भइहाल्यो, नातिनी बालखनै हो तर पनि उसकी आमा (हाम्री बुहारी)को काजकिरिया उसैले गर्छु भनेपछि हामीले पनि सहमती दिएका हौं । उसको इच्छालेनै आमाको किरिया गरेकी हो । उनले परम्परा अनुसार १३ औं दिन सम्मनै बुहारीको किरियामा नातिनी बस्ने बताए ।
