दमक/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूको टुङ्गो लगाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पन्न बैठकले सो टुङ्गो लगाएको हो ।
बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्कीलाई तोकेको छ ।
बैठकले नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतम रहेका छन् । साथै स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।
यसैगरि वैठकले अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्यायलाई जिम्मेवार दिने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।
त्यस्तै सातवटा प्रदेशमा थप दुई ,दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन ,तीनजना सहइन्चार्ज रहनेछन् । जस अनुसार प्रदेश १ मा नरेश खरेल र शेरधन राईलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बने भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् ।