प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता हुँदैछ । राष्ट्रपति निर्वाचनमा सहमति नजुटिरहेको बेला प्रचण्ड र ओलीबीच निर्णय वार्ता हुन लागेको हो ।
राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भएपनि कुनै सहमति जुट्न सकिरहेको छैन । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको बिहीबार छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने बताएका हुन् । ‘छलफल चलिरहेको छ, शुक्रबार एमाले अध्यक्षसँग कुरा हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेका थिए । उनले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर यतिबेला प्रचण्डले सरकारमा रहेका र बाहिर रहेका सबै दलसँग राष्ट्रिय सहमतिका लागि भन्दै दैनिक छलफल गरिरहेका छन् । तर, सहमति जुट्न सकिरहेको छैन ।