बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नव निर्मित कार्यालय भवनको उदघाटन गरिएको छ । बिहिबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गर्दै भवनको उदघाटन गरेका हुन ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडी बढ्न योगदान रहने बताए । मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।
प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसंगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने उल्लेख गरे ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुबिधा सम्पन्न भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुरयाउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कुल १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाँको लागतमा साना ठुला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधिश सत्यमोहन जोशी थारु , प्रदेश सरकारका माननीय मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव किशोर कुमार चौधरी ,स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
