दमक/ उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनसहित सरकारका उच्च अधिकारीहरुले दमकको पुरानो समस्याका रुपमा रहेको रतुवा खोलाको तटबन्धन र त्यस क्षेत्रका बासिन्दाको समस्याका बारेमा स्थलगत जानकारी लिएका छन ।
शनिबार एक नम्बर प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, प्रदेश १ का प्रदेश सभा सदस्य अमर विष्टसहित सरकारी अधिकारीहरु सम्मिलित टोलीले सो बारेमा जानकारी लिएको हो । सो अवसरमा दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले सदियौंदेखि समस्याका रुपमा रहेको रतुवा खोलाबाट कटान सम्बन्धि समस्याको दिगो समाधानका लागि प्रभावकारी योजना ल्याउन ध्यानकर्षण गराए । उनले खोलाको दिगो व्यवस्थापन गरी नागरिकहरुको जिउधनको सुरक्षा ग्यारेन्टी गर्न स्थानीय सरकारको बजेट अपुग हुने भएकाले राष्ट्रिय योजनामा समावेश गरिदिन आग्रह गरे । सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा पनि सहभागी थिए ।
दमकमा रतुवाखोलाको किनारमा तटबन्धनसंगै रतुवापूल उत्तरतर्फ बाँध तथा सौन्दर्यकरण सम्बन्धिको योजनासहित यहाँ आवश्यक महत्वपूर्ण बिकासका योजनाहरुबारेमा उपप्रधान तथा उर्जा मन्त्री लिङदेन, प्रदेश सरकारका मन्त्री सिटौला लगायतको ध्यानाकर्षण गराइएको बताइएको छ । उपप्रधानमन्त्री लिङदेनले सो सम्बन्धिको काम तत्काल अघि बढाउन मातहतका अधिकारीहरुलाई निर्देशन दिने जनाएका थिए ।
