दमक/  झापाको गौरीगञ्ज ३ स्थित गौरीगञ्ज माविमा अध्ययनरत एक जना छात्राले झुण्डिएर आत्महत्या गरेपछि प्रहरीले बिद्यालयमा कार्यरत शिक्षक पवन कुमार दासलाई आज बुधबार नियन्त्रणमा लिएको छ ।

शिक्षक दासले गरेको कुटपिटका कारण आफनी छोरीले आत्महत्या गरेको जिकिर गर्दै मृतक बिद्यार्थी सोनी राजवंशीका ठुलो बुबा दारासिहं राजवंशीले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं ३ कृपालटोली घर भएकी सोनीले हिजो मंगलवार साँझ करिब ५ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिईन् ।
आत्महत्यामा दुरूत्साहन गरेको अभियोगमा प्रहरीले आज विहान गौरीगंज गाउँपालिका वार्ड नं. ३ का स्थायीबासिन्दा शिक्षक दासलाई नियन्त्रणमा लिएको हो ।

त्यसअघि प्रहरीले शिक्षक दासलाई पक्राउ गर्न आलटाल गरेको भन्दै गौरीगंज माविका विद्यार्थी तथा स्थानीयले विद्यालय र शिक्षक दासको घरमा पुगेर नारावाजी समेत गरेका थिए । शिक्षक दासलाई घरमा नभेटेपछि उनीहरू ईलाका प्रहरी कार्यालय गौरीगंज सम्म पुगेका थिए ।
आत्महत्या गर्नुपूर्व शिक्षक दासले गौरीगंज माविको कक्षा ११ मा अध्ययनरत मृतक सोनीलाई अफिसमा दिउँसो ३ .४५ बजे कुटपिट गरि मानसिक यातना दिएको आरोप छ । उनलाई शिक्षक दासले कुटपिट गरी आत्महत्या गर्न बाध्य बनाएको आरोप पीडित पक्षले लगाएका छन । परिवारले दिएको जाहेरी, विद्यालयमा उनीसंगै अध्ययनरत विद्यार्थी र सोनीकै साथीहरूको बयानका आधारमा आत्महत्याको दुरूत्साहन अभियोगमा शिक्षक दासलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

विद्यालयबाट छुट्टी भई साझ ४.३० बजे घर फर्किएकी मृतक सोनीले करिब ५ बजेतिर घरको कामधन्दा सकेर आमा देवकी मण्डल राजवंशीलाई फोन गरी बजारबाट मासु र टमाटर ल्याउन भनेकी उनकी ठुलीआमा सन्जो मण्डलले बताईन् ।
‘ म भोलीदेखि स्कुल जान्न मेरो धेरै वेईज्जत भयो’ स्कुलबाट उनकी ठुली आमाकी छोरी कञ्चन मण्डलसंग घर आउने क्रममा मृतक सोनीले भनेकी उनकी ठुली आमा सन्जो मण्डले बताईन् ।

 

Facebook Comments Box