चितवन / कांग्रेसका नेता डा.शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले संसदमा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले स्वीकार्य नहुने बताएका हुन्।
उनले भने,’स्वतन्त्र न्यायपालिका सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’
नेता कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताए । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्।
उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने बताए।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताएका थिए।