दमक/ दमकको नमुना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनी जस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूती दिलाउन व्यवसायीहरुले माग गरेका छन ।
दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य समेत रहेकी व्यवसायी नेतृ कविता अधिकारीको नेतृत्वमा आज दमक नगरपालिका कार्यालय पुगेका सो क्षेत्रका व्यवसायीहरुको एक समुहले नगर प्रमुख रामकुमार थापालाई भेटेर तत्काल सुरक्षाको प्रत्याभूती दिलाउन ध्यानाकर्षण गराएका हुन ।
उनीहरुले गएराती त्यहाँस्थित बेन्जु राईले सञ्चालन गरेको फेन्सी पसलमा चोरी हुनुका साथै आसपासका अन्य पसलमा समेत तोडफोड र लुटपाटको प्रयास भएको पाइएको बताए । उनीहरुले भर्खरै सोही ठाउँमा भएको आगजनीको घटना र लगत्तै भएको चोरी तथा लुटपाटका घटनाले व्यवसायीहरु त्रास र मारमा परेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरे ।
नगर प्रमुख थापाले बजारमा बढदो असुरक्षा र यसखाले घटनाप्रति आफनो ध्यानाकर्षण भएको जनाउँदै तत्कालै सोबारे अनुसन्धान अघि बढाएर घटनामा संलग्नहरुको पहिचान गरी कारवाहीको दायरामा ल्याउन र प्रभावकारी रात्रीकालिन गस्ती बढाउन स्थानीय प्रहरी प्रशासन प्रमुखसंग आफूले कुराकानी गर्ने आश्वासन दिएका छन । उनले दिगो सुरक्षा र बजार व्यवस्थापनका लागि दमक उद्योग वाणिज्य संघ, स्थानीय बजार व्यवस्थापन समिति , प्रहरी प्रशासन र सम्बनिधत वडा कार्यालयका प्रतिनिधिहरुको संयुक्त प्रयासमा ठोस योजनाको खाका ल्याइने प्रतिबद्धता समेत जनाए ।
