दमक/  नागरिकका आधारभूत आवश्यकता एकातिर स्थानीय सरकारको ध्यान अर्कैतिर रहेको दमक नगरपालिकामा  सञ्चालित काम कार्यक्रमहरुले पुष्टि गरिरहेको छ ।
भर्खरै नगरपालिकाले यहाँको मुख्य बजार क्षेत्रमा व्यवसायिक प्रयोजनका कंक्रिटका संरचनाहरु बनाउने प्रकृया अघि बढाइसकेको छ भने पशुहाट क्षेत्रमा थप पसल कवलका रुपमा पनि कंक्रिट निर्माणको योजनानै कार्यान्वयन गरिरहेको छ ।
दमकमा यसअघि बनेका कतिपय कंक्रिटका संरचनाहरु उपयोगबिहिन अवस्थामा छन भने उद्धेश्य एउटा देखाएर ति भवनको उपयोग अर्कै काममा समेत भइरहेका छन ।
नगर विकास कोषसँग ८ प्रतिशत ब्याजदरमा ऋण लिएर दमक–७ स्थित हाटखोलामा ५ तले सपिङ कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिकाले ठेक्कासमेत आह्वान गरिसकेको छ ।
नगरपालिकाको अघिल्लो नेतृत्वले कार्यकाल सकिने बेलामा नगर विकास कोषसँग ४२ करोड ८० लाख ३ हजार ८ सय ऋण सम्झौता गरेका थिए ।
दमक–७ हाटखोलास्थित ८ कठ्ठा जमिनमा ६१ करोड १४ लाख ३४ हजारमा सपिङ कम्प्लेक्स बनाउने योजना छ । जसमा ७० प्रतिशत नगर विकास कोषले ऋण उपलब्ध गराउने छ भने नगरपालिकाले ३० प्रतिशत अर्थात् १८ करोड ३४ लाख ३० हजार दुई सय ब्यहोर्ने योजना छ ।
नगरप्रमुख रोमनाथ ओलीले नगरपालिकाका तर्फबाट १५ चैत ०७८ मा नगर बिकास कोषसंग ऋण सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो कम्प्लेक्सको भूँइ तलामा पार्किङ र बाँकी चार तला व्यापारिक प्रयोजनका लागि हुने गरी डिपिआर तयार गरिएको छ । काठमाडौंको नवसृजनशील वंगलामुखी जेभीले ४३ करोड २४ लाख १६ हजार ६४४ मा ठेक्का पाएको छ । नगरपालिकाका अनुसार ठेक्का लागेको रकमको ७० प्रतिशत ऋण नगर विकास कोषबाट लिइनेछ ।
नगरपालिकाले नगर विकास कोषसँग गरेको सम्झौताअनुसार उक्त ऋणको ८ प्रतिशत ब्याज नगरपालिकाले तिर्नुपर्नेछ । निर्माण अवधिको तीन वर्ष सहुलियत अवधि भएकाले उक्त समयमा किस्ता बुझाउन पर्दैन । नगरपालिकाले २० वर्षसम्म यो ऋणको किस्ता बुझाउनुपर्ने सम्झौता रहेको जनाइएको छ ।
सम्झौता अनुसार नगरपालिकाले नगर विकास कोषलाई वर्षमा दुई किस्ता बुझाउने छ । नगरपालिकाले कम्प्लेक्स निर्माण पछि भाडामा लगाएर उठेको भाडाबाट किस्ता बुझाउने लक्ष्य लिएको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले अघिल्लो कार्यकालका जनप्रतिनिधिले नगर विकास कोषसँग सम्झौता गरेर कम्प्लेक्स निर्माणका लागि ऋण सम्झौता गरेको तर्क गरिरहेका छन ।
राईले भने ‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरूले गरेको सम्झौतालाई अहिले निरन्तरता दिएर कार्यान्वयन गरिएको हो । एकै ठाउँमा सबै प्रकारको सुविधा सम्पन्न, आधुनिक र व्यवस्थित बजार निर्माण गर्ने उद्देश्यले कम्प्लेक्स निर्माण गर्न लागिएको छ,’ उनले भने, ‘डिपिआर, सम्भाव्यता अध्ययन लगायतका सम्पूर्ण काम नगर विकास कोषले नै गरेर ऋण सम्झौता भएको छ ।’
नगरपालिकाले पार्किङ र अन्य पाँच तलामा हुने व्यापारबाट वार्षिक आठ करोड ३० लाख ५४ हजार ४९६ भाडा उठाउने महत्त्वकांक्षी अनुमानसहितको रिर्पोट तयार परेको छ ।
यसअघि दमक–६ स्थित पुरानो सब्जिबजारमा निर्माण गरेको ‘दमक कमर्सियल भवन’ निर्माण भएको एक बर्षपछि बल्ल अपेक्षा गरे भन्दा कम भाडामा लागेको छ ।
जिल्ला समन्वय समितिले दमक–६ को वडा कार्यालय बनाउन दिएको एक करोड र दमक नगरपालिकाको दुई करोड ९२ लाख २५ हजार ६२१ रुपैयाँ गरी तीन करोड ९२ लाख २५ हजार ६२१ रुपैयाँमा बनेको यो कम्प्लेक्सको तल्लो तला नगरपालिकाले मासिक ५० हजार रुपैयाँमा भाडा लगाउन खोजेपनि अन्तिम समयमा आएर ४० हजार रुपैयाँमा मात्रै भाडा लागेको छ । यो चल्ती एरिया (बजार बीच)मा छ ।

यो भवनको माथिल्लो तला वडा कार्यालयका रुपमा सञ्चालित छ । दुईवटा तलामा भाडा लगाउन नसकेपछि दोस्रो तलामा पनि वडाको   आधारभूत स्वास्थ्य कार्यालय राखिएको छ । यो कम्प्लेक्स योजना अनुसार चल्न नसकेको नगर प्रमुख रामकुमार थापाको स्विकारोक्ती छ ।
अघिल्लो कम्प्लेक्स हुँदा हुँदै दमक नगरपालिकाले ऋणमा लिएर अर्को कम्प्लेक्स बनाउने दमक नगरपालिकाको योजनाले नगरपालिकाको कंक्रिट मोहलाई पुष्टी गरेको छ ।
यद्यपी नगरप्रमुख थापा अघिल्लो कार्यकालका जनप्रतिनिधिको निर्णय भएकाले अहिले निरन्तरता मात्रै दिएको तर्क गर्छन । अघिल्लो कार्यकालमा सबै प्रक्रिया पूरा भएको र टेन्डर मात्र आह्वान गर्न बाँकी भएका कारण आफूले टेन्डर मात्र आह्वान गरेको उनी बताउँछन् । ‘सबै प्रक्रिया पूरा भएका कारण मैले रोक्न सक्ने अवस्था नै रहेन । नगरसभाले नै पारित गरेर प्रक्रिया अघि बढेको रहेछ । अघिल्लो सरकारका निर्णय कार्यान्वय गर्ने प्याकेजमै निर्णय भएकाले बाध्य भएर निर्णय कार्यान्वयन गरेको हुँ, यसलाई छुट्याउन सक्ने अवस्था रहेन । फेरि ऋण दिनेले पनि अध्ययन गरेरै दिएको होला । कार्यान्वयन नगर्दा पनि यति ठूलो योजना लत्याएजस्तो हुने,’ नगरप्रमुख थापाले भने, ‘हामीलाई पनि ऋण गरेर बनाएको कम्प्लेक्स चल्दैन कि भन्ने द्विविधा छ । तर, बनिसकेपछि चल्छ कि भन्ने लागेको छ । अहिले भन्दा पनि १० वर्षपछि बजार विकास र विस्तार हुने कुरालाई हेर्यौँ ।’

Facebook Comments Box