दमक/  झापा दमक १० आमबाडीका अमर विश्वकर्माले ८१ बर्षको उमेरमा जग्गाको मालिक बनौंला भन्ने आशा गर्नै छोडिसक्नु भएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेर सम्म जग्गाको धनी भने हुनै सक्नु भएको थिएन । आफू बर्षौदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा आएपछि विश्वकर्मा परिवारमा पहिलो पटक औधी खुशी भित्रिएको छ ।


बिहिबार दमक १० को वडा कार्यालयमा दमक नगरपालिकाले आयोजना गरेको दलित भुमिहीन, भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुको जग्गा धनीपूर्जा वितरण कार्यक्रममा विश्वकर्मा दम्पत्तीको फोटो टाँस गरिएको जग्गा धनीपूर्जा हात परेपछि खुशीले हर्षविभोर भएका उनीहरुले एक स्वरमा भने –जिवनमा यो भन्दा ठुलो खुशी अरु के हुन्छ र ? भुमी आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट जग्गाधनी प्रमाण पूर्जा ग्रहण गरेका विश्वकर्मा दम्पत्ती जस्तै सोही वडाकी सञ्चमाया लिम्बुलाई पनि १५ धुर एक पावा जग्गाको धनीपूर्जा हात पर्दा मन उसैगरी खुशीले गदगद भएको छ ।


विश्वकर्मा र सञ्चमाया जस्तै सोही ठाउँका ६३ बर्षिय कालिचन्द्र दास पनि यो उमेरमा आएर आफूले बसोबास गरिरहेको जग्गाको स्वामित्व आफनै नाममा आउँदा उस्तै खुशीले रमाउनु भएको छ । उहाँहरु जस्तै सो वडाका कूल २७ परिवारलाई बिहिबार राष्ट्रिय भुमी आयोगका अध्यक्ष निरौलाको प्रमुख उपस्थितीमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भुमी आयोगले नापजाँच यकिन गरि जग्गाको धनीपूर्जा प्रमाण पत्र वितरण गरेको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो धनीपूर्जा वितरण कार्यक्रममा नगर प्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले आफूहरुले चुनाव ताका जनताका घरदैलोमा पुगेर गरेको वाचा मध्येको पहिलो प्राथमिकता भुमीहिनहरुलाई जग्गा धनीपूर्जा दिलाउने नै भएको स्मरण गर्नुभयो । उहाँहरुले नगरपालिकाको सिंगो टिम नागरिकहरुका आधारभूत आवश्यकताहरुको उपलब्धताका लागि प्रतिबद्ध रहेको पनि जनाउनु भयो ।


सो कार्यक्रममा स्वागत गर्दै दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले सो वडामा जग्गा धनीपूर्जाको लागि आवेदन गरेका ६ सय बढी आवेदनहरुमाथि आयोगले छानविन गरि आवश्यक कानुनी प्रकृया पुरा गरेर धनीपूर्जा उपलब्ध गराइरहेको बताउनु भयो । उहाँले वडाले हाल सम्म भएका अनेकौं प्रयत्नहरु सफल नहुँदा जग्गाको स्वामित्व पाउन नसकेका भुमीहिनहरुको समस्यालाई वडा कार्यालयले नजिकैबाट बुझेको र जिल्लास्थित भुमी आयोगले समेत सक्रियतापूर्वक काम गर्दा परिणाम हात लागेको बताउनु भयो । उहाँले आवेदन गरेका अन्य आवेदकहरुलाई समेत यथाशिघ्र धनीपूर्जा दिलाउन आफू प्रयत्नशील रहेको पनि जनाउनु भयो ।
सो अवसरमा आयोगको जिल्ला नेतृत्व, नगरस्तरीय जग्गा धनीपूर्जा प्राप्ती सहजीकरण समितिलाई विशेष धन्यवाद प्रकट गरिएको थियो ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले शुभकामना मन्तव्य राख्दै आयोग र यहँँका जनप्रतिनिधिहरुले नागरिकहरुको अत्यावश्यकताको बिषयलाई बुझेर धनीपूर्जा दिलाउन निर्वाह गरेको भुमिकाको प्रशंसा गर्नु भयो । नगर प्रमुख रामकुमार थापाले अहिले सम्म दमकमा झण्डै ८ हजार जग्गाको धनीपूर्जाका लागि निस्सा वितरण गरि थप प्रकृया अघि बढेको जानकारी दिँदै आयोगलाई सबै भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई यथाशिघ्र नगरबासीको जग्गाको स्वामित्व दिलाउन माग गर्नुभयो ।

Facebook Comments Box