दमक/ नेपाली कांग्रेस र राप्रपाको स्थानीय नेतृत्वले अलग अलग रुपमा दमक उद्योग वाणिज्य संघ , नेपाल रेडक्रस सोसाइटी र यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति निर्वाचनमा निर्वाचित पार्टी सम्बद्ध नेतृत्वलाई बधाई तथा शुभकामना कार्यक्रम गरेका छन ।

कांग्रेसको दमक नगर समितिले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । वाणिज्य संघको अध्यक्षमा कांग्रेस सम्बद्ध लोकतान्त्रिक व्यवसायी संघ समर्थित व्यवसायी गोपाल गुरागाइँसहित तृतीय उपाध्यक्षमा रुवल अधिकारी लगायत खुल्ला सदस्य, बस्तुगत तर्फका सदस्य र एक जना महिला सदस्य निर्वाचित भएकी थिइन ।
त्यसैगरी रेडक्रसमा सभापति प्रकाश बुढाथोकीसहित उपसभापति गोमा बुढाथोकी, उपसचिव बबरजंग थापा किरण लगायत निर्वाचित भएका थिए । त्यस्तै हलुका सवारी चालक इकाई समितिको अध्यक्षमा दिनेश भट्टराई, सहअध्यक्षमा खडग पाण्डे लगायत निर्वाचित भएका थिए ।
कांग्रेसको बधाई शुभकामना कार्यक्रम नगर सभापति प्रकाश प्रसाइँको सभापतित्वमा भएको थियो ।
सो अवसरमा प्रदेश सदस्य चन्द्रा खडका भट्टराई, महाधिवेशन प्रतिनिधिहरु सुरेश सुब्बा, मेदनी प्रसाद सिटौला, मन्धरा चिमरिया पौडेल, विक्रम अधिकारी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र खका सभापति रवि केसी, नेपाल तरुण दलका क्षेत्रीय सभापति एवं वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, पूर्व महासमिति सदस्य दिलबहादुर बुढाथोकी, पूर्व नगर सभापति रोशन विष्ट लगायतले बधाई शुभकामना व्यक्त गरे । सो अवसरमा पार्टीका समर्थक, शुभेच्छुक कार्यकर्ताहरुको उल्लखीय उपस्थिती रहेको पार्टी नगर सचिव दिपेश दाहालले जानकारी दिए । कार्यक्रममा नगर उपसभापति युवराज खनाल (सागर)ले स्वागत मन्तव्य राखेका थिए भने नगर सभापति प्रसाइँले कार्यक्रमको औचित्यबारे प्रष्टयाएका थिए ।

राप्रपाका दुरगामी महत्व राख्ने निर्णय
त्यसैगरी आज –मंगलबारनै राप्रपा दमक नगर समितिको विस्तारित बैठकमा हालसालै दमक रेडक्रस र दमक उद्योग बाणिज्य संघमा विजयी राप्रपा सम्बद्ध ब्यक्तित्वहरुलाई स्वागत सम्मानसहित दुरगामी महत्व राख्ने निर्णय गरेको छ ।
दमक उद्योग वाणिज्य संघमा राप्रपा समर्थित राजु खडका बरिष्ठ उपाध्यक्ष, राजकुमार योङया प्रथम उपाध्यक्ष लगायत व्यक्तित्वहरु निर्वाचित भएका थिए ।
सो बैठकले राप्रपाको स्वामित्वमा रहेको २ कठठा जग्गामा पार्टीको भवन निर्माण गर्न सुवेदीको अध्यक्षतामा प्रदेश क्षेत्र खका सचिव नेत्र चलागाइँ सचिव रहेको २५ सदस्यीय भवन निर्माण समिति गठन गरेको छ भने पार्टीका क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेलको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समिति गठन गरिएको पार्टीका नगर समिति अध्यक्ष हेमराज सुवेदीले जानकारी दिए ।
त्यसैगरी भवन निर्माणकै लागि पार्टी प्रदेश नं १ का अध्यक्ष रामकुमार थापाको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा संयोजन समिति गठन गरिएको छ ।
त्यसैगरी पार्टीको बाणिज्य विभाग गठनका लागि बाणिज्य संघमा निर्वाचित बरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । राप्रपा सम्बद्ध राप्रविसंघका केन्द्रिय सदस्य सुनिल धिमालको संयोजकत्वमा ७ सदस्यीय विद्यार्थी परिचालन तथा स्वबियु निर्वाचन तयारी समिति गठन गरिएको छ ।
त्यस्तै पार्टी जिल्ला सदस्य गंगा सिटौलाको संयोजकत्वमा ५ सदस्यीय मजदुर परिचालन तथा मजदुर संगठन गठन तयारी समिति गठन गरिएको राप्रपाले जनाएको छ ।