शिबगञ्ज/ झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा बिहिबार नव निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर मन्दिर उद्घाटनमा जन आदर्शलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने दानवीर, पूर्व प्रधानध्यापक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
जन आदर्श पूर्व विद्यार्थी समन्वय समितिले आयोजना गरेको समारोहका प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानध्यापक लक्ष्मी प्रसाद उप्रेतीले दानवीर र सहयोगी दाताहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही समारोहमा प्रमुख अतिथि समेत रहनुभएका पूर्व प्रधानध्यापक उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान–पत्रद्धारा सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि उप्रेतीले विद्यालयको शैक्षिक विकास र उन्नयनका निम्ति आफ्नो नेतृत्वमा सञ्चालन गरिएका कार्यको स्मरण गर्नुभयो । वहाँले त्यसवेलाको शिबगञ्जमा जन आदर्श माध्यमिक विद्यालयमा छिमेकी गाविसहरु र वरपरका गाउँहरुबाट अध्ययन गर्ने मुख्य केन्द्र जस्तै बनेको बताउनुभयो । वहाँले जन आदर्श माध्यमिक विद्यालयलाई जिल्लाभर अलगै नुमना विद्यालयको रुपमा संस्थागत विकासका लागि पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने जनाउनुभयो । वहाँले बिगतमा पनि जन आदर्श झापामै अलग पहिचान बनाउन सफल भएको र आगामी दिनमा पनि नमुना विद्यालय बनाउन शिबगञ्जवासीसहित पूर्व विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । वहाँले बिद्यालयको हित, समुदायको प्रगती र विद्यार्थीहरुप्रतीको मायाको कारण आफ्नो जीवनको महत्वपूर्ण समय र सर्घषहरु शिबगञ्जमै बिताएको बतानुभयो । त्यसवेला म आफ्नो व्याक्तिगत चाहाना र लक्ष्य राखेको थिए भने राम्रो जागिर खान्थे, उप्रेतीले भने–म राम्रो परिवारको मान्छे थिए, राम्रो थियो मेरो विद्यार्थी जीवनमा पठन पाठन ।
पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष समेत रहनुभएका शिबसताक्षी–६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो । सो अवसरमा पूर्व विद्यार्थी तथा झापा क्षेत्र नं ४ (१) प्रदेश सांसद राधाकृष्ण खनालले जन आदर्शबाटै आफ्नो विद्यार्थी राजनीतिक जीवन सुरु भएको र जन आदर्शबाटै एसएलसी उर्तिणपछि राजनीतिमा सक्रिय भएको स्मरण गर्नुभयो । वहाँले जन आदर्शको विकासमा मेरो भूमिका सकारात्मक रहने बताउनुभयो । शिबसबताक्षी नगरकी उपप्रमुख तथा जन आदर्शका पूर्व विद्यार्थी नरमाया कार्कीले जन आदर्शमा विद्यार्थी जीवनबाट पाएको शिक्षाले आज यो स्थानमा आइपुग्न सफल भएको बताउनुभयो । वहाँले विद्यालयको हित र विकासका निम्ति नगरपालिकाको तर्फबाट रचनात्मक र सृजनात्मक सहयोग रहने बताउनुभयो । जन आदर्शका पूर्व विद्यार्थी तथा नेपाली कांग्रेस झापाका नेता भक्ति सिटौला, शिबगञ्ज बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा पूर्व विद्यार्थी मिलन ढुंगाना, पूर्व विद्यार्थी दिपेन पाठक, सिताराम भेटुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समारोहमा जन आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक तुलसी प्रसाद अधिकारी, सहायक प्रधानध्यापक टिकाराम काफ्ले, विद्यालय व्यस्थापन समितिका अध्यक्ष नविन तिम्सिना, सामाजिक व्याक्तित्व तथा मन्दिर निर्माणमा सहयोगी जनक खड्का, उद्योग बाणिज्य संघ शिबसताक्षीका पूर्व अध्यक्ष भोलानाथ मैनाली, शिबगञ्ज बजार व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ गुरागाई लगायत थिए ।
समितिका उपाध्यक्ष दिपक भेटुवालले स्वागत मन्तव्य राख्नुभएको र समितिका सदस्य तथा मन्दिर निर्माण उपसमितिका संयोजक भगवती ढ्ंगेलले दाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा जन आदर्शका विद्यार्थीहरु र स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक गीत, नृत्य र प्रहसन प्रस्तुत गरेका थिए । पूर्व विद्यार्थी तारा कटुवालले गीत प्रस्तुत गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रमको सञ्चालन रेवत खनालले गर्नुभएको थियो भने समितिका सचिव दिनेश श्रेष्ठ र समितिका सदस्य लक्ष्मीकान्त कर्णले सञ्चालन गर्नुभएको थियो ।
