दमक/ कमल गाउँपालिका १ सरङपाडास्थित नरेन्द्र जनता माविको ५५ औं बार्षिकोत्सव पाँच दिन सम्म विभिन्न रचनात्मक कार्यक्रमसहित मनाइएको छ ।
बिद्यालयले सो अवसरमा गत ८ माघदेखि आज १२ माघ सम्म बिद्यार्थीहरुबीच आन्तरिक खेलकुद, निशुल्क स्वास्थ्य शिविर र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो ।
बिद्यालयका प्रधानाध्यापक बद्र कार्कीका अनुसार मेडी म्याक्स अस्पताल गौरादह र नोवेल डेन्टल गौरादहको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बिद्यार्थी र आसपास क्षेत्रका अभिभावक, जनप्रतिनिधि, शिक्षक, कर्मचारी समेत करिब ६०० जनाले प्रत्यक्ष लाभ लिएका छन । स्वास्थ्य शिविरको कमल १ का वडाध्यक्ष केदार कटुवालको स्वास्थ्य परिक्षण गरेर औपचारिक शुरुवात गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रमको आज सरस्वती पूजाको समेत अवसर पारेर औपचारिक समापन गरिएको छ । समापन कार्यक्रममा बिद्यालयको आजिवन सदस्यता वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । जसका माध्यमबाट बिद्यालयमा १० बर्ष भित्र १ करोड रुपैँयाको अक्षयाकोष स्थापना गरिनेछ ।
स्थानीय शिक्षासेवी, सामाजिक व्यक्तित्व गणेश कार्कीले आज बिद्यालयको पहिलो आजिवन सदस्य बन्ने बताउँदै सो वापत बिद्यालयको अक्षयकोषमा एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ।
शिक्षासेवी तथा दाता कार्कीकै प्रमुख आतिथ्य र कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशेष आतिथ्यमा भएको समापन कार्यक्रममा वडाध्यक्ष कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने कमल जेसीजका कार्यकारिणी उपाध्यक्ष तिर्थ पौडेल लुम्बिनी विकास बैंकका सञ्चालक केशब खतिवडा,बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरु, पूर्व शिक्षक, चन्दादाता, भूतपूर्व बिद्यार्थीका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।
समापन कार्यक्रममा खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै बिद्यालयलाई योगदान दिने दाताहरुलाई सम्मान गरिएको प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।



