भद्रपुर/ दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

                                                                           झुण्डिएको जोडी हेर्न घटनास्थलमा भेला भएका स्थानीयहरु

कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको छ। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए।

मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन्।

करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले अन्नपूर्णलाई बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।

प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे।’ अन्नपूर्णबाट

Facebook Comments Box