दमक/ झापाको क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एलपी साँवाले सो क्षेत्र अन्तर्गत झापा गाउँपालिकाका दुई बिद्यालयमा अध्ययनरत ११ जना बिपन्न तथा जेहेन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण गरेका छन ।

साँवाले सो पालिकामा पर्ने डिल्लीराज मावि र त्रिभुवन आधारभूत बिद्यालयमा अध्ययनरत ति बिद्यार्थीलाई एसइइ सम्मको अध्ययनका लागि आवश्यक पर्ने बिद्यालय पोशाक, स्कूल ब्याग र स्टेशनरी सामग्री समेत लाग्ने सम्पूर्ण खर्च आफनो निजी स्रोतबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन । आफनो निर्वाचन क्षेत्रमा रहेका समस्याहरुको स्थलगत जानकारी लिने क्रममा सोमबार ति बिद्यालयमा पुगेका साँवाले सम्बन्धित बिद्यालयका प्रधानाध्यापक, अभिभावक तथा बिद्यार्थीहरु माझ त्यस्तो प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराएका हुन । त्यस अवसरमा बिद्यालयले सांसद साँवालाई स्वागत गर्दै आवश्यकता र समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
सांसद साँवा सो क्षेत्रबाट २०७४ र २०७९ मा भएका प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रही लोकप्रिय मतसहित निर्वाचित भएका सांसद हुन । उनले सोमबारनै झापा र गौरीगञ्ज गाउँपालिकालाई जोडने हुलाकी मार्ग अन्तर्गतको निर्माणाधिन कन्काई पूलको समेत निरिक्षण गरेका छन । पटक पटक म्याद थप भएर पनि पूरा हुन नसकेको सो पूलको निर्माण तत्काल पूरा गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन ।