दमक/ दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले जित हासिल गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको राप्रपा र जसपासहित माओवादी केन्द्रको विद्रोही समुहका व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवारहरु बिजयी भएका हुन ।

शनिबार बिहान ४ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा देवीप्रसाद गुरागाइँ (गोपाल)ले ९८५ मत ल्याएर बाजी मारेका छन । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमाले सम्बद्ध र माओवादी केन्द्र सम्बद्ध प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका विमल खतिवडाले ६५१ मत ल्याएका छन । संघको वरिष्ठ उपाध्यक्षमा राजु खडका (८८२ मत) ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका थिए । त्यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए ।
यस्तै, द्वितिय उपाध्यक्षमा लोकतान्त्रिकका विजयी ज्ञाननाथ पौडेल (ज्ञानु )ले १००७ मतका साथ विजयी भए । सो पदमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६०३ मत पाईन भने तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाए ।
महिला सदस्यमा तुम्बापो र अधिकारी
दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार प्रगतिशील समुहकी कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो ( १०६८ ) मतका साथ विजयी भईन् ।
खुल्ला छ जना सदस्यमा एक जना प्रगतिशीलका उम्मेदवार उमेश गजमेर , विजयी भए । खुल्ला सदस्यमा लोकतान्त्रिकका तर्फबाट टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९ ), कमल कटुवाल ( ८३९), सुवासचन्द्र गड्तौला (८४२ ) , र हेमसागर अधिकारी (९०४ ) मत ल्याउदै विजयी भए ।
लेखा संयोजकमा चम्लागाई
लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
बस्तुगत र लेखा सदस्य निर्विरोध
२२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।
महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित भएका जनाइएको छ । ती मध्ये गौतम मात्र प्रगतिशील समुहका हुन् । यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र प्रगतिशील समूहबाट षडानन्द घिमीरे निर्विरोध भएका थिए ।
शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १६ सय ८९ मत खसेको थियो ।
नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । संघको निर्वाचनमा नेतृत्व हत्याउन एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित होमबहादुर थापा, केन्द्रिय सदस्य एवं युवा नेता गोविन्द थापा,पूर्व मेयर तथा केन्द्रिय सदस्य रोमनाथ ओली, पूर्व उपमेयर तथा केन्द्रीय सदस्य गीता अधिकारी लगायत व्यवसायीहरुको समुह बनाएर ठाउँ ठाउँमा प्रगतिशील समुहको भोट माग्न खटिएका थिए भने कतिपय वडाअध्यक्षहरु समेत मतदानस्थलमा खटिएका देखिन्थे ।
अध्यक्ष गुरागाइँको अपराजित यात्रा

दमक उद्योग वाणिज्य संघमा नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाइँ उर्फ गोपाल व्यवसायिक क्षेत्रलाई मुख्य पेशा बनाएर दुई दशक अघिदेखि दमकमा रेडिमेड कपडाको व्यापारमा संलग्न व्यवसायी हुन । २०३२ सालमा ताप्लेजुङमा जन्मिएका गुरागाइँको परिवार मधेस झरेपछि दमकलाई २०५८ सालदेखि व्यवसायिक थलो बनाएर यहाँका सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील बनेका हुन ।
उनले दमक बजारमा व्यवसायीहरुको ठुलो समुह आवद्ध रहेको साधना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, युवाहरुको नेतृत्व , व्यक्तित्व र व्यवसायिक बिकासमा समेत योगदान गर्दै आएको दमक जेसीजको महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन । दमक ताप्लेजुङ सम्पर्क मञ्च कार्य समितिको सदस्यका रुपमा समेत रहेका गुरागाइँ आफनो पदीय जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने विशेषता भएका व्यक्तित्व हुन ।
सबैसंग मिलनसार र आदर सत्कारको संस्कारका पर्यायवाचीनै हुन गुरागाइँ । उनको यही स्वभावले दमकको व्यवसायिक,वित्तिय तथा सामाजिक क्षेत्रमा कुनै न कुनैबेला उनको आवश्यकता खडकिरहेकै हुन्छ ।
उनलाई व्यवसायीहरुको भावनाको कदर गर्ने, व्यवसायिक हित र संरक्षणका लागि भिजन दिन सक्ने विशेषताकै कारण दमक उद्योग वाणिज्य संघका हरेक निर्वाचनमा बहुसंख्यक व्यवसायीहरुको मत दिएर जिताउँदै आएका छन ।
२०६४/०६५ सालमा दमक उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष सुदिपराज पन्त नेतृत्वको कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्ष सम्मका पदहरुमा रहेर आफनो जिम्मेवारी सम्हालिसकेका व्यवसायी नेता हुन ।
गुरागाइँले वाणिज्य संघको (२०७४ देखि २०७६ ) सम्मको प्रथम उपाध्यक्ष पदको कार्यकाल पछिनै संघको अध्यक्ष पदमा जिम्मेवारी लिने तयारीमा थिए । यसअघि नेकपा एमाले सम्बद्ध राष्ट्रिय वाणिज्य संघको नगर उपाध्यक्षको भुमिकामा समेत रहेका गुरागाइँलाई संगठनले अन्तिम समयमा आएर अध्यक्षमा उम्मेदवार नबनाई बिमल खतिवडालाई बनाउने भएपछि आफू अन्यायमा परेको भन्दै विद्रोह गरे । वाणिज्य संघमा आवश्यक नेता र सम्भावना बोकेको पात्रका रुपमा लिएको कांग्रेसले गुरागाइँको एमाले बहिर्गमनलाई उपयोग गर्दै संघको अध्यक्षमा साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्यो । उनलाई अधिकांश व्यवसायीहरुले समर्थन जनाए र राजनीतिक रुपमा समेत राप्रपा र जसपाले उनलाई अध्यक्षको उम्मेदवार स्विकार गरेर चुनावी मैदानमा होमिए ।
एउटा निश्कलंक र निर्विवाद पात्र
वाणिज्य संघमा आफनो कार्यकालका अनुभवहरु धेरै छन । जिम्मेवारी बहन गर्ने सिलसिलामा कसैसंग पनि अहिले सम्म विवादमा परेनन । उनको कार्यकाल हरेक पटक निर्विवादित बितेको इतिहास छ ।
आफनो बारेमा आफैंले भन्नु भन्दा समाजबाट आउने प्रतिक्रियालाई महत्व दिने उनको स्वभाव छ । गुरागाइँ भन्छन– वाणिज्य संघमा स्वभाविक रुपले व्यवसायीक कुराहरु नै आउँछन । ति कति बिषय व्यवसायीका विरुद्धमा पनि आए कति व्यवसायीको पक्षमा पनि आए मैले निर्वाह गरेको भुमिका कस्तो रहयो ? त्यो मसंग भन्दा पनि व्यवसायीहरुसंगै त्यसको जवाफ छ । त्यो उहाँ ( व्यवसायी साथीहरु) ले नै महसुस गर्ने कुरा रहयो ।
निरन्तर वाणिज्य संघका हरेक पदबाट अपग्रेड गराउनु हुने मतदाताका एजेण्डाका बारेमा आफू जानकार रहेको गुरागाइँ बताउँछन । गुरागाइँ भन्छन – मतदाताले मत दिइसकेपछि अपेक्षा पक्कै राख्नु भएकै हुन्छ यसपटक पनि मबाट धेरै अपेक्षा राख्नु भएको छ मैंले हाम्रो टिमका तर्फबाट गर्न सक्ने कुराहरु व्यवसायीहरुमाझ राखेर भोट मागेको छु ति कुराहरु पूरा गर्न हाम्रो टिम प्रतिबद्ध छ । आफूहरुले व्यवसायीमाझ सस्तो लोकप्रियताका लागि झुटा आश्वासन बाँडने, प्रलोभन देखाउने काम नगरेको भन्दै गुरागाइँले भने– हामीले व्यवसायीहरुका हरेक समस्याको समाधानका लागि सहजीकरणको भुमिका निर्वाह गर्नेछौं । बुँदागत रुपमा ति प्रतिबद्धताहरु मतदाता माझ पुरयाएका थियौं । त्यसैलाई हेरेर हाम्रा हिजोदेखि आज सम्मका गतिबिधिहरुलाई मुल्याङकन गरेर उहाँहरुले मत प्रकट गर्नुभएको हामीले महसुस गरेका छौं ।