दमक/ दमक नगरपालिकाले नगरको यातायात तथा ट्राफिक व्यवस्थापन गर्दै शहरी सुदृढीकरणका लागि छुट्टै कार्यविधि बनाएर लागू गरेको छ । सो कार्यविधि अनुसार दमक २ का वडाध्यक्ष तथा यातायातको क्षेत्रका अनुभवी प्रजापति सापकोटा अध्यक्ष रहेको ३७ सदस्यीय दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवम् शहरी क्षेत्र सुदृढीकरण समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । गठित समितिले ट्राफिक प्रहरी र जनपथ प्रहरीको सहयोगमा सो कार्यविधि कार्यान्वयन गर्ने गराउने अध्यक्ष सापकोटाले बताए । सो कार्यविधिको कडाइँका साथ पालना गराउने बिषयमा सम्बन्धित निकायहरुबीच चरणबद्ध छलफल गरिएको छ ।

कार्यविधिमा नगरपालिकाको बजार क्षेत्र र लोकमार्गमा प्रतिघण्टा ४० कि.मि. भन्दा बढी स्पीडमा सवारी चलाउन रोक लगाइएको छ ।
त्यस्तै समितिले सडकको व्यस्तता, सवारी चाप समेत हेरेर नगरका अन्य सडकमा समेत गाडीको गति सीमा तोक्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै कार्यविधिमा सडकमा गति नियन्त्रणका लागि भन्दै हम्स राख्न रोक लगाइएको छ । यसअघि निर्माण भएका हम्स १ महिनाभित्र हटाउन पनि सम्बन्धित उपभोक्तालाई समितिले आदेश दिने उल्लेख छ । त्यस्ता हम्सका कारण सडकमा दुर्घट्नाको जोखिम झनै बढेको ट्राफिक प्रहरीको निष्कर्ष रहेकाले हम्स हटाउने व्यवस्था गरिएको हो । न.पा.ले तोकेका यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि नियम उल्लंघन गर्ने सवारीलाई सो समितिले जरिवाना समेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
सवारीसाधन दुर्घटना भएमा दुर्घट्नामा गल्ति गरेको सवारी पहिचान गरी कारबाही गरिने, नगरपालिका क्षेत्रभित्र मापसे गरी सवारी चलाएमा प्रहरीले नियन्त्रणमा लिई त्यस्ता चालकमाथि हदै सम्मको कानुनी कारवाही र जरिवाना समेत समितिले गर्ने जनाइएको छ । सडक सुरक्षाका लागि बाटोमा सवारी बिग्रिएमा २ घण्टाभित्र साइड लगाई सुरक्षित ठाउँमा लगी सक्नुपर्ने र सवारी रोकि राखेको अवस्थामा अनिवार्य रुङालो राख्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । त्यसैगरी बजार क्षेत्रमा सवारीको हर्न बजाउन निषेध गरिएको छ भने नगरपालिका क्षेत्रभित्र मात्र सञ्चालन हुने व्यवसायीक सिटी रिक्सा र अटो लगायत सवारी तथा ढुवानी साधनमा आबद्ध चालकलार्ई नगरपालिकाले स्थानीय परिचय पत्र जारी गर्ने व्यवस्था गरिएको छ । परिचय पत्र नलिने चालकले न.पा. क्षेत्रमा स्थायी रुपमा सवारी चलाउन पाउने छैनन् ।
नगरपालिका क्षेत्रभित्र नियमसंगत सवारी चलाउने साना र ठूला सवारीका चालकलाई हरेक बर्ष प्रोत्साहनको व्यवस्था समेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
बसपार्कको उपयोगमा जोड
सो समितिले दमकको बसपार्कलाई उच्चतम सदुपयोग गर्न सार्वजनिक यातायातका सवारी साधनहरु अनिवार्य रुपमा बसपार्क भित्र प्रवेश गराउनु पर्ने व्यवस्था पनि गर्दैछ ।
समितिले हाल भिडभाड रहेका क्षेत्रहरुमा राखिएका लोकल तथा ननस्टप काउण्टरहरुलाई बसपार्क भित्रै एकीकृत गरी चाप हुने क्षेत्रमा यात्रु ओराल्ने र चढाउन पूर्ण रुपमा रोक लगाउने, समितिले तोकेकोे क्षेत्रमा भन्दा अन्यत्र सवारी रोक्ने, यात्रु चढाउने, ओराल्ने गरेमा तोकिएको जरिवाना असूल गरी कारवाही गर्ने ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्मा अधिकारीले बताए ।