गौरादह/ प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले प्राथमिकताका विषय निर्धारण गरि कार्यसम्पादन गर्ने बताउनु भएको छ ।
झापाको गौरादहस्थित कार्की निवासमा बुधबार प्रेस चौतारी नेपालले गरेको वधाई तथा शुभकामना कार्यक्रममा उहाँले योजनावद्ध विकास र कार्यसम्पादन चाँडै निर्धारण हुने बताउनु भयो ।
त्यस क्रममा उहाँले सुशासन र मितव्यीता कायम गर्न मन्त्रालयको संख्या ९ मा सिमित पार्ने निर्णय भई सकेको भन्दै त्यसैलाई कुनै पनि हालतमा परिवर्तन नगरिने पनि बताउनु भयो । केहि दिनमानै प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन गरिने र त्यस पछि सरकारले थप गति लिने उहाँको भनाई थियो ।
अघिल्लो कार्यकाल प्रदेशको नाम नराखि वितेको विषयमा उहाँले यो कार्यकालले नाम राख्ने लगायतका बाँकि कार्यभार पूरा गर्ने समेत उहाँले दृढता व्यक्त गर्नु भयो । सके सम्म सर्वसम्मत् र नभए प्रकृयाबाट भए पनि सवैको भावना समेटिने गरि प्रदेशको नाम राखिने मुख्यमन्त्री कार्कीको भनाई थियो ।
त्यस अवसरमा चौतारी क्षेत्रीय कमिटीले तयार पारेको वधाई पत्र क्षेत्रीय अध्यक्ष भुमिराज पराजुली, केन्द्रिय सदस्य टीकाराम उप्रेती, प्रदेश १ महासचिव गोपाल झापाली, कोषाध्यक्ष युवराज विवश, जिल्ला अध्यक्ष मनकुमार गदाल लगायतले हस्तान्तरण गर्नु भयो । वक्ताहरुले प्रेसमैत्री नीति निर्माण र कार्य सम्पादन गर्न प्रदेश सरकार सफल हुने शुभकामना व्यक्त गरेका थिए ।