दमक/ प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची आजै अपराह्न ४.१५ बजे प्रकाशित गरिने छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ । बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।
यसैबीच सत्तासाझेदार दलहरु मध्ये सभामुख भाग परेको एमालेले झापा २ बाट निर्वाचित देवराज घिमिरेलाई सभामुख बनाउने सम्भावना देखिएको छ । पार्टीभित्र पृथ्वी सुब्बा गुरुङ र छबिलाल विश्वकर्माको नाम पनि सभामुखको चर्चामा छ ।
गुरुङको सम्भावना कम भएपनि विश्वकर्मालाई भने बनाउनु पर्ने दबाब एमाले अध्यक्ष ओलीलाई गएको छ । तर ओलीको आसपासमा झापाली नेताहरुको प्रभाव र दबाब देखिएका कारण झापा २ बाट निर्वाचित ओलीका विश्वास पात्र मानिने पुराना नेता घिमिरेलाई ओलीले सभामुख बनाउने सम्भावना बढेको बताइएको छ । एमाले भित्र ओलीले गर्ने निर्णयनै अन्तिम निर्णय हुने गरेका कारण घिमिरेको सम्भावना बलियो देखिएको अध्यक्ष ओलीको सचिवालयका एक जना नेताले बताए ।