विराटनगर/ विराटनगरमा रहेर पत्रकारितामा क्रियाशील पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेलामा लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् ।
विराटनगरबाट दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षमा एक कार्यकाल जिम्मेवारी निर्वाह गरेका थिए । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको प्रदेश ब्युरो प्रमुखको रुपमा कार्य गरेका उनी हाल बाह्रखरी अनलाइनको प्रदेश संयोजकको जिम्मेवारीमा छन् । उनले ५ बर्ष भन्दा बढी समय झापामा रहेर स्थानीय र राष्ट्रियस्तरका मिडियामा समेत रिपोर्टिङ र सम्पादनको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन ।

वैचारिक पत्रकारितालाई बढावा दिंदै व्यवसायिकता अभिवृद्धिका लागि आफू उमेदवार बन्न लागेको लुइँटेलले बताएका छन् । “पत्रकारितामा हालसम्म प्राप्त गरेको अनुभवलाई संगठनिक जिम्मेवारीका माध्यमबाट थप बाढावा दिन उमेदवारी दिन लागेको हुँ,” उनले भने ।
भेलामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका अध्यक्ष लिलावल्लव घिमिरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, युनियनका पूर्व पूर्वाञ्चल उपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष दिपक दाहाल, महासंघ मोरङका पूर्वअध्यक्ष विक्रम निरौला, युनियन मोरङका पूर्वअध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, कार्यवाहक अध्यक्ष कौशल निरौलालगायत भेलामा सहभागी थिए ।
चारतारे साप्ताहिकबाट २०५७ सालमा पत्रकारिता शुरु गरी विभिन्न राष्ट्रिय, स्थानीय र क्षेत्रीय संचारमाध्यममा समेत लुइँटेलले कार्य गरिसकेका छन् । झापामा अन्नपूर्ण पोस्ट दैनिकको जिल्ला संवाददाता, एभिन्युज टेलिभिजनको संवाददाता, पूर्वसन्देश दैनिकको सह–सम्पादक, उज्यालो पत्र दैनिक(विराटनगर) को कपीएडिटर, प्रतिदिन दैनिक (झापा), मेची टाइम्स दैनिक (झापा), नागरिक एफएम (झापा), बिएफएम (विराटनगर), नमस्ते एफएम(इटहरी) को संवाददाताको रुपमा समेत कार्य गरेको अनुभवन संगालेका लुइँटेल संसदीय पत्रकार मंच प्रदेश नम्बर एकको सचिव समेत हुन् । उनी पत्रकार मञ्च दमकको कोषध्यक्ष, प्रेस युनियन झापा र मोरङको केन्द्रीय पार्षदको जिम्मेवारीमा पनि थिए । हाल युनियनको प्रदेश पार्षद रहेका लुइँटेलले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् ।
उनले रिर्पोटर्स क्लब झापा उत्कृष्ट युवा पत्रकारिता पुरस्कार, शिक्षक संघ झापाबाट उत्कृष्ट पत्रकार पुरस्कार, संचारकर्मी संचार सहकारी संस्था विराटनगरको युवा पत्रकारिता पुरस्कार, कृष्णप्रसाद सिग्देल(विराटनगर) स्मृति पत्रकारिता पुरस्कार, नेपाल कृषि पत्रकार प्रतिस्ठान (जोना काठमाडौ) उत्कृष्ट राष्ट्रिय पत्रकारिता पुरस्कार, शिरोमणी पुस्तकाल विराटनगरबाट पत्रकारिता सम्मानलगायत सम्मान तथा विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।