दमक/ देशव्यापी आर्थिक मन्दिसंगै व्यापार व्यवसायमा परेको नकारात्मक प्रभावको मारमा परेका दमकका बैंकिङ कर्जा पीडित व्यवसायीहरुको अवस्था डरलाग्दो रहेको तथ्य सार्वजनिक भएको छ ।
नियमित व्यापार व्यवसायमा आएको गिरावटका कारण तिर्न नसकेको बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जा ताकेता गर्न आएका प्राइभेट बैंकका कर्मचारीहरुको व्यवहारका कारण ऋणीहरु पलायन हुने क्रम उच्च भएको छ भने ऋणीका परिवारका सदस्यहरु समेत मानसिक तनावमा परेका छन । पछिल्लो समय दशैं तिहारपछि दमक र आसपासबाट करिब दुई दर्जन बढी प्रतिष्ठित व्यवसायीहरु सार्वजनिक रुपमा बाहिर हिंडडुल नगरी अर्धभुमिगत जस्तै जिवन बिताइरहेका र कतिपयको अवस्थानै अज्ञात रहेको बताइएको छ ।

ऋणी तथा बैंकका कर्जा पीडित प्रतिनिधिहरु संगठित हुँदै बैंकका कर्मचारीहरुको अप्रिय शैलीको विरोधमा संगठित समेत भएका छन । विक्रम ताजपुरियाको अध्यक्षतामा पीडित व्यवसायीहरुले बैंकिङ कर्जा पीडित एकता मञ्चको समेत गठन गरेका छन । रामप्रसाद नेपाल सचिव रहेको सो मञ्चको कार्यसमितिमा रहेका अन्य व्यवसायीहरुले भने अर्धभुमिगत शैलीमा सो संगठनमा आवद्धता भएको जनाउ दिएका छन ।
उनीहरुले भनेका छन– हाम्रो सामाजिक मुल्य मान्यताले पनि हामीलाई समाजमा एउटा ऋणीका रुपमा खुल्न अप्ठयारो पारेको छ । त्यसमाथि बैंकका कर्मचारीहरुको व्यवहार उस्तै समस्याग्रस्त भएकाले हामी खुल्न चाहदैंनौं । कुनै न कुनै रुपमा संगठित रहेका बैंकका कर्जा पीडित व्यवसायीहरुको संख्या दमकमा झण्डै ४–५ सयको हाराहारीमा रहेको उनीहरुले बताएका छन ।
बैंकका कर्जा पीडित एकता मञ्चले शनिबार दमकमा पत्रकार भेटघाटको आयोजना गरेर बैंकका प्रतिनिधिहरुले कर्जा ताकेताका लागि घरमा पुग्दा जघन्य अपराधीमाथि प्रहरीले गर्ने व्यवहार भन्दा अमानवीय व्यवहार गरेको आरोप लगाएका छन । उनीहरुले आफूहरु बैंकमा भएको पूर्व शर्त अनुसारको व्यवहार गर्न सधैं तयार भएको तर परिस्थितीलाई बुझ्ने कोशिस बैंकहरुले नगरेर लुटेरा शैली अपनाएको पनि आरोप लगाएका छन ।
मञ्चका अध्यक्ष ताजपुरियाले भने– बैंकको मात्रै होइन कसैको पनि ऋण लिएपछि तिर्नुपर्छ र तिरिन्छ तर के ऋण लिएर व्यवसाय गर्नुनै अपराध हो त ? बिषम परिस्थितीका कारण व्यापार व्यवसाय चौपट भएर तिर्न नसक्ने अवस्था आएको कुरा सबैलाई थाहा हुँदाहुँदै बैंकका प्रतिनिधिहरुले घर घरमा गएर ऋणीलाई मर्नु न बाँच्नुको अवस्थामा पुरयाएको छ । मानवीय संवेदनालाई समेत बैंकहरुले बुझने कोशिस नगरी एकोहोरो पेलिरहेको मञ्चका सचिव नेपालले बताए । बैंकहरु आफैंले धान्न नसकेर एकअर्कामा मर्ज हुन पाउने, सरकारले ऋण तिर्न नसकेर विदेशी ऋण लिन पाउने हामी व्यवसायीहरु टाट पल्टिएको अवस्थामा ऋण तिर्ने म्याद नपाउने ? यो कहाँ सम्मको अन्याय हो ? मञ्चमा आवद्ध व्यवसायीहरुले एकै स्वरमा भनेका छन । हामीलाई कि त नेपालबाट लखेटनै खोजिएको हो भने हाम्रो नागरिकता खारेज गरियोस, हाम्रो सम्पत्ती राज्यले जिम्मा लियोस र हामीलाई यहाँँबाट लखेटोस होइन भने हामी कर्जा लिएर कारोबार गरेकै आधारमा हामीमाथि अपराधीझै व्यवहार किन गरिन्छ ? बैंकका कर्मचारीहरुले आजै पैसा नतिरे घर जग्गा लिलाम गरिदिन्छौं, पुलिस लगाएर घर खाली गराउँछौं, पत्रपत्रिकामा तीन पुस्ते छापिदिन्छौं भन्दै ब्ल्याकमेल गरेर घरमा रहेका दीर्घरोगी बिरामीहरुलाई तनाव दिनु ब्ल्याकमेल भएको व्यवसायीहरुको तर्क छ ।
कर्जाको समय सीमा बढाइनु पर्ने र मनलाग्दो आफूखुशी बैंकहरुले बढाएको ब्याज दर खारेज गरिनुपर्ने मञ्चको माग छ ।