दमक/ दमक उद्योग बाणिज्य संघको महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी निर्विरोध निर्वाचित भएकी छन् ।
शनिवार भएको उम्मेदवार विरुद्ध दावी विरोधमा आफना प्रतिष्पर्धी लोकमाया ढुंगानाको उम्मेदवारी खारेजी भएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । वाणिज्य संघको विधानत उम्मेदवार ढुंगानाको उम्मेदवारी अयोग्य ठहरिएपछि उनको उम्मेदवारी खारेजी गरिएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।
उनका अनुसार ढुंगानासहित तीन जना उम्मेदवार विरुद्ध दावी विरोध परेको थियो । अन्य दुई जना विरुद्धको दावी विरोध भने संघको विधानत दावी विरोध योग्य नभएको भन्दै खारेजी गरिएको उनले बताए ।
विधानत पदाधिकारीको उपाध्यक्ष पदमा उम्मेदवार हुनका लागि कम्तीमा ५ वर्ष फर्म नविकरण भएको हुनुपर्छ । तर उम्मेदवार ढुंगानाको फर्म नविकरण भएको ३ वर्ष मात्र उल्लेख छ । त्यही विधान अनुसार उम्मेदवार ढुंगानाको उम्मेदवारी अयोग्य ठहरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध निर्वाचित निरौला यसअघि संघको कार्यसमिति सदस्य हुन् । उनी अध्यक्षका उम्मेदवार देवीप्रसाद गुरागाई (गोपाल) को प्यानलबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । निर्वाचन समितिका अनुसार माघ १ गतेसम्म उम्मेदवारी फिर्ताको समय छ । सो अवधि सम्म आवश्यक भन्दा बढी उम्मेदवारी दिएका पदहरुमा माघ ६ गते मतदान हुने जनाईएको छ ।