दमक/ दमक उद्योग बाणिज्य संघको आसन्न ६ माघमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । संघको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल) र अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी बिमल खतिवडाले उम्मेदवारी दिएका छन ।
संघको बरिष्ठ उपाध्यक्षमा राजु खड्का र राजेन्द्र दंगाल, प्रथम उपाध्यक्षमा राजकुमार योङ्या र भरत कुमार चम्लागाई, द्वितिय उपाध्यक्षमा ज्ञाननाथ पौडेल, विन्दु सिटौला र रमेश लुईंटेल ,तृतीय उपाध्यक्षमा रुबल अधिकारी र असिम राईको उम्मेदवारी परेको छ । संघमा पहिलो पटक अनिवार्य गरिएको महिला उपाध्यक्ष पदमा सुष्मा निरौला केसी र लोकमायाँ ढुंगानाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक लिला गुरागाईंले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा खुल्ला तर्फ १५ जना, बस्तुगत तर्फ ८ जना र महिला सदस्यमा ३ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै संघको लेखा समिति संयोजकमा नेत्रप्रसाद चम्लागाईं र मुकुन्द आचार्य साथै सदस्यहरुमा पदम बहादुर राउत र सदानन्द घिमिरेको उम्मेद्वारी परेको संयोजक गुरागाईंले बताए ।
आगामी ६ गते हुने मतदानका लागि आज उम्मेद्वारी मनोनयन भएको र भोलि बिहान १० बजेदेखि उम्मेद्वार माथि दाबी बिरोधको कार्यक्रम राखिएको उनले बताए ।
त्यसैगरी माघ १ गते देखी २ गते दिउँसो २ बजेसम्म उम्मेद्वारी फिर्ता र सोहिदिन अपरान्ह ३ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका संयोजक गुरागाईंले जानकारी दिए ।

 

Facebook Comments Box