दमक/ झापाको गौरीगञ्ज गाउँ कार्यपालिकाले पछिल्लो समय थप चार वटा कार्यविधि निर्माण गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले आवश्यकता अनुसार संघीय र प्रदेश कानुनसंग नबाझिने गरी स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कार्यविधिहरु बनाएर लागू गर्न सक्ने संबैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार स्थानीय तह अर्थात पालिकाले कार्यविधि निर्माण गर्दै आएका छन ।
पालिकाले बजेट तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आवश्यक कार्यविधि नबनाई खर्च गर्दा बितेका बर्षहरुमा पालिकाले ठुलो अंकमा बेरुजुको भार बोक्नु परिरहेकोले पारदर्शीताका लागि कार्यविधि निर्माण गरिएको पालिका स्रोतले जनाएको छ ।
गाउँपालिकाले पछिल्लो समय भू–उपयोग सम्बन्धिको कार्यविधि, स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, आर्थिक सहायता वितरण कार्यविधि र मर्मत सम्भार कोष सञ्चालन कार्यविधि पारित गरेको पालिकाको आधिकारिक वेवसाइटमा प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।
भू उपयोग कार्यविधि पारित भएसंगै गौरीगञ्जमा जग्गाको कित्ताकाट खुलाउने प्रकृयामा सहज भएको छ भने स्वास्थ्य सेवा सञ्चालन कार्यविधिले आधारभूत अस्पताल सञ्चालन, स्वास्थ्य चौकी, खोप केन्द्रहरुको सञ्चालन, रेखदेख तथा व्यवस्थापन, निजी स्वास्थ्य संस्था, प्रयोगशालाहरुमाथि आवश्यक नियमन तथा अनुगमनको पक्ष लगायत जनसरोकारका बिषयहरुको सम्बोधनमा सहज बनेको छ ।
त्यस्तै जटिल तथा दिर्घरोगीहरु, न्यूनतम आधारभूत आवश्यकताबाट बञ्चित नागरिकहरु, विभिन्न प्रकोप तथा आकस्मिक घटनाका पीडितहरुलाई सहायताका लागि समेत मापदण्ड निर्धारण भएका छन । यसले पालिकाको कार्य सम्पादनमा सहजता र पारदर्शीताका लागि सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका योजना अधिकृत नारायण प्रसाद चँदराले जानकारी दिए ।